काँकडभिट्टा–लौकही राजमार्गः : स्टिल अभावले पुल निर्माण प्रभावित
झापा । एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम स्टिल अभावका कारण प्रभावित भएको छ ।
आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । आवश्यक स्टिलको आपूर्ति हुन नसक्दा निर्माण कार्य प्रभावित भएको उनले बताए।
तातोपानी नाका बन्द भएपछि केरुङ–रसुवागढी नाका हुँदै स्टिल ल्याउने गरिएकोमा गत साउन १० गतेको भोटेकोशी बाढीले सडक अवरुद्ध गरेपछि आपूर्ति पूर्णरूपमा रोकिएको उनले जानकारी दिए । नेपालमा पुल निर्माणका लागि आवश्यक गुणस्तरको ४२० ग्रेडको स्टिल उपलब्ध नहुने भएकाले भारतबाट अर्डर गरेर ल्याउनुपरेको र समयमै आपूर्ति हुन नसक्दा कामले गति लिन नसकेको उनले बताए ।
“अहिले भारतबाट अर्डर गरेर मात्र पुल निर्माणमा चाहिने स्टिल ल्याउने गरेका छौँ”, उनले भने, “नेपालमा गुणस्तरीय ४२० ग्रेडको स्टिल पाइँदैन । अर्डर गर्नुपरेकाले भारतबाट समेत भनेको समयमा नआउँदा समस्या भएको छ ।”
आयोजनाका अनुसार तीनवटै पुल निर्माणमा हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ । रतुवा पुलको निर्माण भने ५२ प्रतिशत पूरा भएको छ । सम्झौताअनुसार पुल निर्माण आगामी २०८३ माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि सामग्री अभावका कारण तोकिएको समयमै काम सम्पन्न गर्न कठिन हुने आयोजना प्रमुख प्रजापतिले बताए ।
रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ । तीनवटै पुलमा आधुनिक ‘स्टिल आर्क’ प्रविधि प्रयोग गरिने उनले बताए ।
तीनवटा पुल निर्माणको ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले रु पाँच अर्बमा लिएको छ । पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक काम चिनियाँ कम्पनीले गर्ने तथा अन्य सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले गरिरहेको उनले बताए ।
रतुवा नदीमा निर्माण हुने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमा २६४ मिटर खण्ड स्टिल आर्क र बाँकी खण्ड कङ्क्रिटको हुनेछ । उक्त पुलमा तीनवटा स्पान रहनेछन् । लोहन्द्रा नदीको ३८५ मिटर लामो पुलमा ८०–८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन् । बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने जनाइएको छ ।
वर्षायाममा समेत पुल निर्माणको काम भइरहेको छ । हाल रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको छ । रतुवा पुलको काम सकिएपछि लोहन्द्रा र बक्राहा पुलको निर्माणलाई तीव्रता दिइने आयोजना प्रमुख प्रजापतिले बताए ।
झापाको सितापुरीदेखि मोरङको गोठगाउँसम्मको करिब ४० किलोमिटर सडक खण्डमा यी तीन पुल निर्माण भइरहेका छन् ।