कोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए
पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। शुक्रबार दिउँसो सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन्।
सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको डीएसपी खड्काले बताए । सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि खतरा मानिने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहे पनि ब्यारेजका सबै ढोका नखोलिएका कारण नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। श्रीलंका टापुका स्थानीय सन्तोष चन्द्रबंशीले नदीमा पानीको बहाव बढ्दै गएकाले आसपासका बस्तीका नागरिकमा त्रास बढेको बताए।
बिहीबारदेखि देशभर वर्षा भइरहेको र पूर्वी पहाडी क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेकाले सप्तकोशी नदीमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले सप्तकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताए। उनका अनुसार नदीको बहाव बढ्दै गएकाले सम्भावित बाढी तथा अन्य घटनालाई मध्यनजर गर्दै सुरक्षा निगरानी बढाइएको छ।
प्रहरी निरीक्षक ओलीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाअन्तर्गत सप्तकोशी नदी आसपासका क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीको उद्धार टोलीसमेत परिचालन गरिएको छ। टोलीलाई आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा सहयोगका लागि तयारी अवस्थामा राखिएकोओलीले बताए।
लगातारको वर्षाका कारण नदीमा पानीको सतह र बहाव बढ्न सक्ने भएकाले नदी किनार,तटीय बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा नदी आसपास नजान र सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ।