२०८३ आश्विन १२ गते , सोमबार

जुवा खेलिरहेको अवस्थामा दुई लाख नगदसहित १३ जना पक्राउ

sajilo news
झापा
२०८३ आश्विन १२ गते , सोमबार
जुवा खेलिरहेको अवस्थामा दुई लाख नगदसहित १३ जना पक्राउ

सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ बुङ्ग तास र २ लाख ४ हजार ३८० रुपैयाँ नगदसहित १३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले खाँदबारी नगरपालिका–८, जिरो प्वाइन्टस्थित मानबहादुर तिवारीको घरमा तास खेलिरहेको अवस्थामा घरधनी तिवारीसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मानबहादुर तिवारी, सोही स्थानका टीकाराम तिवारी र देवेन्द्र श्रेष्ठ तथा सिलिङचोङ–५ का दिनेश कार्की र वसन्त राई रहेका छन् । उनीहरूको साथबाट १ बुङ्ग तास र ८९ हजार ८३० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनकुटाको टोलीले धनकुटा नगरपालिका–१ हिलेस्थित सीताराम श्रेष्ठको घरको कोठामा तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिकाका मोहनबहादुर विक, रमेश राई, सविन तामाङ, तेजबहादुर मगर, रमेश भण्डारी, दीपेन्द्र मगर र रमेश कार्की तथा महालक्ष्मी नगरपालिका–८ का रामकाजी विक रहेका छन् ।

उनीहरूको साथबाट ४ बुङ्ग तास, ११९ वटा गोटी र १ लाख १४ हजार ५५० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । ताससहित पक्राउ परेका १३ जनामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार