ठाकुरगञ्जमा कारले मोटरसाइकललाई ठक्कर दिँदा भद्रपुरका विजयको घटनास्थलमै मृत्यु
भारतको ठाकुरगञ्जमा कारको ठक्करबाट झापा भद्रपुरका एक व्यक्तिको मृत्यु भएको छ । आज दिउँसो किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज प्रहरी चौकी क्षेत्रको रेलवे ओभर ब्रिजनजिकै राधे इन्टरनेशनल होटल छेउमा तीव्र गतिमा आइरहेको स्विफ्ट डिजायर कारले प्र-१-०१-०१६ प ८३७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भद्रपुर नगरपालिका- ३, महेशपुर निवासी मोटरसाइकल चालक ५६ वर्षीय विजय सिंहको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार बजारको दिन भएको र विजय किनमेल गर्न मोटरसाइकल चढेर ठाकुरगञ्ज गएका थिए। किनमेल गरेर फर्कँदै गर्दा सिलिगुडीबाट तीव्र गतिमा आउँदै गरेको स्विफ्ट डिजायर कारले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते विजयलाई ठाकुरगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि कारमा सवार व्यक्तिहरू गाडी घटनास्थलमै छोडेर भागेका छन् । घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनाग्रस्त कार र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। घटनाको जानकारी पाएपछि मृतकका भाइ ढकारु राय स्वास्थ्य केन्द्र पुगेका छन्। यता ठक्कर दिने कार नम्बर र अन्य प्रमाणहरूको आधारमा फरार चालकको पहिचान र खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।