झापामा चिनी ११० र नुन २४ रुपैयाँ, सहुलियत मूल्य पसल पनि सञ्चालन गरिने
भद्रपुर । झापामा चाडपर्वलाई लक्षित गर्दै चिनी र नुनको मूल्य घटाएर बिक्री गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुखबीच भएको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले चिनी प्रतिकेजी ११० रुपैयाँमा सहुलियत मूल्यमा बिक्री गर्ने निर्णय गरेको छ। त्यस्तै, नुनको अधिकतम बिक्री मूल्य प्रतिकेजी २६ रुपैयाँ रहेकामा २ रुपैयाँ छुट दिई प्रतिकेजी २४ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको छ।
चाडपर्वका समयमा सर्वसाधारण उपभोक्तालाई राहत पुर्याउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सहुलियत मूल्यका पसल सञ्चालन गर्ने निर्णय गरिएको हो।
बैठकले चामल, चिनी र नुनलगायत अत्यावश्यक खाद्य सामग्रीको पर्याप्त मौज्दात कायम राखी जिल्लाभर सहज आपूर्ति सुनिश्चित गर्ने निर्णयसमेत गरेको छ। साथै, चाडपर्वका समयमा सहुलियत मूल्य पसल सञ्चालन र त्यसबारे आम नागरिकलाई जानकारी प्रवाह गर्ने निर्णय भएको छ।
त्यसैगरी, स्थानीय उद्योग वाणिज्य संघ, व्यापारिक संघसंस्था तथा निजी क्षेत्रका व्यवसायीलाई समेत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वतःस्फूर्त रूपमा सहुलियत, छुट, राहतका प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरिएको छ।
