झापामा टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित खतिवडा चोकमा टिपरमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुद्धशान्ति–३, किनारा बस्तीका २८ वर्षीय विक्रम ल्वागुन रहेका छन्। एक साताअघि असोज ५ गते साँझ ७ः४५ बजे बुद्धशान्ति २ खतिवडा चोकस्थित शनिश्चरे–जयपुर भित्री पक्की सडक खण्डमा शनिश्चरेबाट जयपुरतर्फ आउँदै गरेको मे ७ प ६३४६ नम्बरको १८० सीसी अपाचे मोटरसाइकलले रोकिराखेको को १ क १९४१ नम्बरको टिपरको पछाडि ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ल्वागुनको टाउकोमा चोट लागेको थियो । उनी गम्भीर घाइते भएका थिए ।सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने १८ वर्षीय रिजन ल्वागुन पनि घाइते भएका थिए । उनको मुख र ढाडमा चोट लागेको थियो ।
घाइते दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज बिहान १०;४५ बजे विक्रम ल्वागुनको उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइतेको उपचार भइरहेको छ । टिपर र मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ । टिपर चालक मोरङ धनपाल २ बस्ने ३९ वर्षीय भोला सरदारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।