शनिश्चरे बजार अनुगमन, म्याद गुज्रेका तथा अखाद्य सामग्री नष्ट
झापा अर्जुनधाराको शनिश्चरे बजारमा गरिएको बजार अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गुज्रेका तथा अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा गएको संयुक्त टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम विभिन्न पसल तथा फर्मको छड्के अनुगमन गरेको हो।
अनुगमनका क्रममा द फेमिली स्टोर्सबाट ५ हजार २२३ रुपैयाँ बराबरका म्याद गुज्रेका खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ। त्यस्तै मंगरु मिष्टान्न भण्डारबाट प्रयोगशाला परीक्षणका लागि एक थान नमुना संकलन गरिएको छ। लक्ष्मी स्टोरलाई खाद्य तथा अखाद्य वस्तु छुट्टाछुट्टै राख्न निर्देशन दिइएको छ। गुराँस स्टोर्सबाट ५५० रुपैयाँ बराबरको म्याद गुज्रेको बिस्कुट, सुधा फलफूल स्टोरबाट ४०० रुपैयाँ बराबरको म्याद गुज्रेको पेय पदार्थ तथा जलेश्वरवाली जेनेरल स्टोर्सबाट ५ हजार ८०० रुपैयाँ बराबरका म्याद गुज्रेका तथा लेबल नभएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै काजल किराना पसलबाट ६५० रुपैयाँ बराबरको नौनी र आइस क्यान्डीसमेत जफत गरिएको छ।अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नाप तौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र आन्तरिक राजस्व कार्यालय झापाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।