२०८३ आश्विन १४ गते , बुधबार

म्यान्मार सेनाको हवाई हमला, ४९ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ आश्विन १३ गते , मंगलबार
म्यान्मार सेनाको हवाई हमला, ४९ जनाको मृत्यु

म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। घटनामा ५८ जना घाइते भएका छन्।

अराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार क्याउक्ताव टाउनसिपको स्थानीय बजारनजिक एक लडाकु विमानले दुईवटा बम खसालेको थियो। हमलामा बजारका व्यापारी, सामान किन्न आएका ग्राहक र बाटो हिँडिरहेका सर्वसाधारणसमेत परेको बताइएको छ।

अराकान आर्मीका अनुसार घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ। रखाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले घटनास्थलमा रहेका उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेको एसोसिएटेड प्रेसले जनाएको छ। उनका अनुसार उक्त बजार रखाइन राज्यका प्रमुख थोक व्यापार केन्द्रमध्ये एक हो, जहाँ विभिन्न क्षेत्रबाट व्यापारी तथा ग्राहक आउने गरेका थिए।

अराकान आर्मीले घटनालाई आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा भएको गम्भीर हवाई हमला भन्दै जिम्मेवार पक्ष र संस्थाविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। हमलापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा केही भवनमा आगो लागेको, सवारीसाधन क्षतिग्रस्त भएको र नजिकैको पुलको केही भाग भत्किएको देखिएको समाचारमा उल्लेख छ।

घटनाबारे म्यान्मारको सेनाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन। सेनाले यसअघि आफूले वैध सैन्य संरचनालाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ। उसले विद्रोही समूहहरूलाई आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ।

क्याउक्ताव म्यान्मारको दोस्रो ठूलो सहर माण्डलेबाट करिब ३४० किलोमिटर पश्चिममा पर्छ। उक्त क्षेत्र अहिले अराकान आर्मीको नियन्त्रणमा रहेको बताइएको छ। घटनासम्बन्धी विवरणलाई भने स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको समाचारमा उल्लेख छ।

सम्बन्धित समाचार