युवा नेतृत्वको यात्राः विद्यार्थी संगठनदेखि कांग्रेसको भद्रपुर नगर नेतृत्वसम्म प्रतिक रौनियार
भद्रपुर । विद्यार्थी जीवनदेखि संगठन, संघर्ष र नेतृत्वको यात्रामा निरन्तर सक्रिय रहँदै आएका झापाको भद्रपुरका युवा नेता प्रतीक शाह रौनियारले छोटो समयमै विद्यार्थी संगठनदेखि पार्टीको नगर तहसम्म आफ्नो राजनीतिक पहिचान स्थापित गरेका छन्।
वडा तहबाट सुरु भएको २६ वर्षीय रौनियारको सङ्गठनात्मक यात्रा विद्यार्थी संगठन, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), क्षेत्रीय प्रतिनिधि हुँदै नेपाली काँग्रेसको नगर समितिसम्म आइपुगेको हो। पछिल्लो समय सम्पन्न नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भद्रपुर नगर अधिवेशनबाट उनी निर्विरोध नगर सदस्यमा निर्वाचित भएका छन्।
१९ वर्षको उमेर हुँदा रौनियारले नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को वडा सचिवको जिम्मेवारीबाट आफ्नो सङ्गठनात्मक यात्रा सुरु गरेका थिए। विद्यार्थी जीवनमै संगठनप्रति आकर्षित भएका उनले त्यसपछि विद्यार्थीका शैक्षिक तथा सङ्गठनात्मक मुद्दालाई नजिकबाट उठाउँदै सक्रियता बढाउँदै लगे।
२०७८ सालमा उनी नेपाल विद्यार्थी संघ, मेची बहुमुखी क्याम्पस इकाइको सह–सचिवको जिम्मेवारीमा पुगे। क्याम्पसमा विद्यार्थीका समस्या, शैक्षिक वातावरण, सङ्गठनात्मक गतिविधि तथा विद्यार्थीको हकहितसँग जोडिएका विषयमा उनले आफ्नो भूमिका निर्वाह गर्दै आएको बताइएको छ।
त्यसपछि २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सदस्य पदमा निर्वाचित हुँदै उनले विद्यार्थी प्रतिनिधिका रूपमा थप जिम्मेवारी प्राप्त गरे। स्ववियुमा रहँदा विद्यार्थीका हक, अधिकार, शैक्षिक वातावरण, पारदर्शिता तथा विद्यार्थीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने विषयलाई उनले प्राथमिकतामा राखेको उनी निकटहरू बताउँछन्। विद्यार्थी संगठनमा सक्रिय हुँदै गर्दा उनको नेतृत्व क्षमता र सङ्गठनात्मक भूमिकाले थप निरन्तरता पायो। २०८२ सालमा सम्पन्न स्ववियु निर्वाचनमा विद्यार्थीको समर्थन प्राप्त गर्दै उनी मेची बहुमुखी क्याम्पस स्ववियुको कोषाध्यक्षमा निर्वाचित भए।
कोषाध्यक्षको जिम्मेवारी पाएपछि आर्थिक पारदर्शिता, विद्यार्थी हित र संस्थागत उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरेको रौनियारको भनाइ छ। विद्यार्थी संगठनमा पद प्राप्त गर्नु मात्रैभन्दा पनि प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्नु महत्त्वपूर्ण हुने उनको धारणा छ।
यसैक्रममा २०८३ सालमा उनी क्षेत्रीय प्रतिनिधिका रूपमा समेत अगाडि बढे। पार्टीको सङ्गठनात्मक गतिविधिमा युवाको सहभागिता, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने वातावरण तथा लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिँदै उनले आफ्नो राजनीतिक यात्रालाई विद्यार्थी संगठनभन्दा बाहिर पार्टी संरचनासम्म विस्तार गरे। भर्खरै सम्पन्न नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भद्रपुर नगर अधिवेशनबाट निर्विरोध नगर सदस्यमा निर्वाचित भएपछि उनको राजनीतिक जिम्मेवारी थप फराकिलो भएको छ। यससँगै उनी अब विद्यार्थी संगठनमा मात्र सीमित नभई समग्र नगर संगठनको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुगेका छन्।
पदभन्दा जिम्मेवारीलाई प्राथमिकता
२०७७ सालमा वडा तहको विद्यार्थी संगठनबाट सुरु भएको रौनियारको यात्रा २०८३ सालसम्म आइपुग्दा विभिन्न सङ्गठनात्मक जिम्मेवारी हुँदै पार्टीको नगर नेतृत्वसम्म पुगेको छ। करिब छ वर्षको अवधिमा उनले विद्यार्थी संगठनदेखि स्ववियु र पार्टी संगठनसम्म फरक–फरक भूमिकामा काम गर्ने अवसर पाएका छन्।
उनको राजनीतिक यात्रालाई केवल प्राप्त पदहरूको सूचीका रूपमा मात्र हेर्नुभन्दा संगठनभित्र युवाको सहभागिता, विद्यार्थीका मुद्दा उठाउने प्रयास, नेतृत्वसँग संवाद तथा आफ्नो पुस्ताको आवाज सम्बन्धित निकायसम्म पुर्याउने गतिविधिसँग जोडेर हेर्नुपर्ने उनीनिकटहरूको भनाइ छ। विद्यार्थी राजनीतिबाट पार्टीको मूल संगठनमा प्रवेश गर्ने क्रममा प्राप्त अनुभवले आगामी दिनमा आफूलाई अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको रौनियार बताउँछन्।