२०८३ आश्विन १५ गते , विहीबार

राजनीतिक आडमा नेटवर्किङ र चिठ्ठाको धन्दा, झापाका प्रहरी प्रशासनमाथि दबाब

sajilo news
झापा
२०८३ आश्विन १४ गते , बुधबार
राजनीतिक आडमा नेटवर्किङ र चिठ्ठाको धन्दा, झापाका प्रहरी प्रशासनमाथि दबाब

बिर्तामोड । राजनीतिक पहुँच र प्रभावको आडमा झापाको बिर्तामोडमा अवैध नेटवर्किङ व्यवसाय तथा चिठ्ठाका नाममा सर्वसाधारणबाट रकम उठाउने धन्दा सञ्चालन भइरहेको आरोप लागेका व्यवसायीहरूले प्रहरी प्रशासनमाथि दबाब दिन थालेका छन्।

अवैध नेटवर्किङ तथा चिठ्ठा कार्यक्रम सञ्चालन गरेको आरोपमा एनके प्युरिफाइका सञ्चालक कचनकवल–२ का मिलन अधिकारी र अर्जुनधारा–१० का माधव घिमिरे पक्राउ परेपछि उनीहरूलाई रिहा गर्नुपर्ने माग गर्दै नेटवर्किङ व्यवसायमा संलग्न व्यवसायीहरूको ठूलो समूह जिल्ला प्रशासन कार्यालय पुगेको हो।

प्रहरीले अधिकारी र घिमिरेलाई गत बिहीबार पक्राउ गरेको थियो। एनकेको चिठ्ठा कार्यक्रममा विवाद उत्पन्न भएपछि ग्राहकहरूले कम्पनीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका थिए। उजुरीपछि जिल्ला प्रशासन कार्यालयले एनके प्युरिफाइको गतिविधिबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बिर्तामोडलाई निर्देशन दिएको थियो।

प्रशासनको पत्र प्राप्त भएपछि प्रहरीले कम्पनीमा संलग्न अधिकारी र घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। उनीहरूमाथि मंगलबार दोस्रोपटक अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

पक्राउ परेका सञ्चालकलाई रिहा गर्नुपर्ने तथा चिठ्ठा कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने माग गर्दै नेटवर्किङ व्यवसाय तथा चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएका व्यवसायीहरूको समूह सोमबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो। उनीहरूले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना माग राख्दै पक्राउ परेकाहरूलाई छाड्न र चिठ्ठा कार्यक्रम सञ्चालन गर्न दिन दबाब दिएका थिए। तर, प्रमुख जिल्ला अधिकारी पोखरेलले भने कानुनविपरीत कुनै पनि व्यवसाय सञ्चालन गर्न नदिने स्पष्ट पारेका छन्। ‘मैले अवैधरूपमा सञ्चालन गर्नेहरूमाथि कारबाही गर्न प्रहरीलाई भनिसकेको छु,’ पोखरेलले भने, ‘कुनै पनि हालतमा चिठ्ठा सञ्चालन गर्न पाइँदैन।’

६५ करोड उठाएको आरोप

हाल एनके प्युरिफाइको चिठ्ठा कार्यक्रम बन्द गरिएको छ। ग्राहकहरूबाट ठूलो रकम संकलन गरेको आरोप लागेको उक्त कम्पनीबाट करिब १८ हजार ग्राहक प्रभावित भएको र उनीहरूबाट करिब ६५ करोड रुपैयाँ संकलन गरिएको दाबी गरिएको छ।

कम्पनीले कुन शीर्षकमा, कस्तो प्रक्रियाबाट र केका लागि रकम संकलन गरेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। ग्राहकबाट संकलित रकम, कम्पनीको कारोबार, चिठ्ठा कार्यक्रमको कानुनी हैसियत तथा त्यसमा संलग्न व्यक्तिहरूको भूमिकामाथि अनुसन्धान केन्द्रित रहेको प्रहरी स्रोतले जनाएको छ।

एनके प्युरिफाइको विवाद चर्किएसँगै बिर्तामोडमा सञ्चालनमा रहेका अन्य नेटवर्किङ कम्पनी र तिनले सञ्चालन गर्ने भनिएका चिठ्ठा कार्यक्रममाथि समेत प्रश्न उठ्न थालेको छ।

दर्जनौँ कम्पनी, एक लाखभन्दा बढी प्रभावित भएको आशंका

बिर्तामोडमा एनके, ब्राभो, साँची, अजम्बरी, एसकेडी, युएलसी, हेल्दी लिभिङ, प्राइम वेलबिइङ लगायतका विभिन्न कम्पनीले नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको बताइएको छ।

यी कम्पनीसँग जोडिएका चिठ्ठा तथा नेटवर्किङ कार्यक्रममार्फत ठूलो संख्यामा सर्वसाधारणबाट रकम संकलन भएको र समग्रमा एक लाखभन्दा बढी व्यक्ति प्रभावित भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, यो संख्या हालसम्म आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। विभिन्न कम्पनीबाट पीडित भएको दाबी गर्ने व्यक्तिको संख्या, उनीहरूले बुझाएको रकम र कम्पनीहरूको वास्तविक कारोबारबारे छुट्टाछुट्टै अनुसन्धान आवश्यक देखिएको छ।

विशेषगरी वस्तु बिक्री, सदस्यता विस्तार, चिठ्ठा, उपहार तथा आकर्षक प्रतिफलको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम संकलन गर्ने गतिविधिबारे प्रशासन र प्रहरीको ध्यान केन्द्रित भएको छ।

राजनीतिक पहुँचको आरोप

बिर्तामोडमा सञ्चालन भइरहेका कतिपय नेटवर्किङ व्यवसायमा विभिन्न राजनीतिक दलसँग आबद्ध वा राजनीतिक व्यक्तिसँग निकट सम्बन्ध भएका व्यक्तिहरू संलग्न रहेको आरोपसमेत लाग्दै आएको छ।

यही कारण विगतमा यस्ता व्यवसायमाथि प्रश्न उठ्दा पनि प्रभावकारी कारबाही हुन नसकेको गुनासो पीडितहरूले गर्दै आएका छन्। यद्यपि, कुन कम्पनी वा व्यक्तिको राजनीतिक सम्बन्धले गैरकानुनी गतिविधिलाई संरक्षण गरेको हो भन्ने विषयमा छुट्टै प्रमाणित अनुसन्धान आवश्यक छ।

अनुसन्धानको दायरामा एनकेसहित अन्य कम्पनी

एनके प्युरिफाइका सञ्चालक पक्राउ परेपछि बिर्तामोडमा नेटवर्किङ तथा चिठ्ठाका नाममा भइरहेको कारोबारबारे बहस थप चर्किएको छ। अहिले मुख्य प्रश्न कम्पनीहरूले कानुनी अनुमति लिएर कारोबार गरेका थिए कि थिएनन्, ग्राहकबाट कति रकम उठाइएको थियो, रकम कहाँ प्रयोग भयो र चिठ्ठाका नाममा गरिएको कारोबार कानुनसम्मत थियो कि थिएन भन्नेमा केन्द्रित भएको छ।

प्रहरीले एनकेको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप व्यक्ति तथा कम्पनीमाथि समेत अनुसन्धान विस्तार गर्न सक्ने संकेत गरेको छ। ठूलो संख्यामा सर्वसाधारणको रकम जोडिएको विषय भएकाले अनुसन्धान निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने देखिएको छ।

पीडित भनिएका ग्राहकहरूले आफूहरूले बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरिरहेका छन् भने व्यवसायीहरूले आफूहरूको कारोबारलाई गैरकानुनी नभएको दाबी गर्दै आएका छन्। अब प्रहरी अनुसन्धान र अदालतको प्रक्रियाबाट कम्पनीको कारोबार, रकम संकलन तथा चिठ्ठा कार्यक्रमको कानुनी हैसियतबारे तथ्य बाहिर आउनेछ।

ग्लोबल ओरियन्समा छापा, ४१ पक्राउ

यसअघि करिब तीन साताअघि इलाका प्रहरी कार्यालय बिर्तामोडले नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेर ४१ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये दुई जनाविरुद्ध प्रहरीले मुद्दा अघि बढाएको थियो। मुद्दा चलाइएका इलामका पीताम्बर कट्टेल सोमबार धरौटीमा रिहा भएका छन्। ग्लोबल ओरियन्सले विगतमा बिर्तामोडमा मन्त्री तथा सांसदलगायत राजनीतिक व्यक्तिहरूलाई सहभागी गराएर भव्य कार्यक्रमसमेत आयोजना गरेको थियो। त्यसैले कम्पनीको विगतको गतिविधि, राजनीतिक पहुँच र नेटवर्किङ कारोबारबीचको सम्बन्धबारे समेत अनुसन्धान हुनुपर्ने आवाज उठेको छ।

सम्बन्धित समाचार