पाकिस्तानको हवाई प्रतिबन्धपछि वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता
काठमाडौँ । पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रको प्रतिबन्ध अक्टोबर २४ सम्म विस्तार गरेपछि भारतले वैकल्पिक हवाई मार्गका लागि चीनसँग वार्ता थालेको छ ।
स्रोतका अनुसार भारत सरकारले चीनको सिन्जियाङस्थित होतानमाथिको हवाईमार्ग प्रयोग गर्ने विषयमा चिनियाँ पक्षसँग कुराकानी गरिरहेको छ । भारतको विदेश मन्त्रालयले सम्बन्धित विषयमा आफ्ना चिनियाँ समकक्षीसँग लामो समयदेखि छलफल गरिरहेको स्रोतले जनाएको छ ।
पाकिस्तान विमानस्थल प्राधिकरण (पीएए) ले जारी गरेको ‘नोटिस टु एयरमेन’ (नोटाम) अनुसार भारतीय विमानका लागि पाकिस्तानको हवाई क्षेत्रमाथिको प्रतिबन्ध अक्टोबर २४ सम्म विस्तार गरिएको छ । यसअघि प्रतिबन्ध सेप्टेम्बर २४ मा समाप्त हुने तय थियो ।
जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि सन् २०२५ अप्रिलदेखि पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । यसका कारण भारतले वैकल्पिक उडान मार्ग खोज्दै आएको छ ।
गत अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । त्यसको जवाफमा भारतले अप्रिल ३० देखि पाकिस्तानद्वारा सञ्चालित, पाकिस्तानको स्वामित्वमा रहेका वा भाडामा लिएका विमानलाई भारतीय हवाई क्षेत्रमा प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
पहलगाम आक्रमणको प्रतिक्रियास्वरूप भारतले ‘अपरेसन’ सञ्चालन गर्दै पाकिस्तान र पाकिस्तान प्रशासित जम्मु–कश्मीर (पीओजेके) मा रहेका आतङ्कवादी पूर्वाधारलाई लक्षित गरेको थियो । भारतले आक्रमणमा संलग्न आतङ्कवादी संरचना र प्रशिक्षण केन्द्रलाई लक्षित गरिएको जनाएको थियो ।
पाकिस्तानसँगको तनावका क्रममा दुवै पक्षले हवाई तथा अन्य सैन्य कारबाही गरेका थिए । पछि युद्धविराम भएको थियो । पहलगाम आक्रमणमा संलग्न रहेको भनिएका आतङ्ककारीहरू अपरेसनका क्रममा भारतीय सेना, केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) र जम्मु–कश्मीर प्रहरीले कारबाहीमा मारेको भारतको दाबी छ ।