झापा आन्दोलनका योद्धा बस्नेतको निधन, पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका एक योद्धा घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आज बिहान ओलीले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर र पुष्पगुच्छा अर्पण गरेका हुन्।
पूर्व सांसद बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो। उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेबाट माधव कुमार नेपाल छुट्टिएपछि बस्नेत नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष बनेका थिए।
ओलीले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन् । ओलीले भनेका छन्,‘कमरेड घनेन्द्र बस्नेत हामीबीच नरहनुभएको दुःखद खबर सुनेँ। नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविस्मरणीय छ।’ बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने ओलीले उल्लेख गरेका छन्। उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ।