भारतीय नक्कली नोटसहित झापामा दुई जना पक्राउ
झापा । झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधवार साँझ ५ बजे दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा भारतीय नम्बर प्लेटको बीआर ३७ जे २७०८ मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा भारतको किशनगञ्ज जिल्ला, खनियाबाद ३, फतेपुर निवासी २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलमलाई नियन्त्रण लिएर शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा भारतीय रुपैयाँ ५०० दरका ७० थान नोट फेला परेको थियो। बरामद नोट ३५ हजार भारतीय रुपैयाँ रहेको जनाइएको छ।
बरामद नोटमध्ये अधिकांशको नम्बर दोहोरिएको पाइएपछि प्रहरीले नक्कली नोट भएको आशंकामा परीक्षणका लागि नेपाल राष्ट्र बैंक, विराटनगर, मोरङ पठाएको थियो। परीक्षणका क्रममा सबै नोट नक्कली रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। यता पक्राउ परेका दुवै जनाविरुद्ध नक्कली नोटसम्बन्धी कसुरमा झापा जिल्ला अदालत भद्रपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।