२०८३ कार्तिक १ गते , शनिबार

चाडपर्वलाई लक्षित गर्दै बैंक तथा व्यापारिक प्रतिष्ठानलाई झापा प्रशासनको ६ बुँदे निर्देशन

sajilo news
झापा
२०८३ आश्विन ३० गते , शुक्रबार
चाडपर्वलाई लक्षित गर्दै बैंक तथा व्यापारिक प्रतिष्ठानलाई झापा प्रशासनको ६ बुँदे निर्देशन

झापा ।  जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्लाका बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र सपिङ मलहरूलाई ६ बुँदे निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै जिल्लास्थित बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान एवं सपिङ मल तथा व्यावसायिक कम्प्लेक्सहरूलाई आन्तरिक सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएका हुन् ।

चाडपर्वका समयमा बजार तथा वित्तीय क्षेत्रमा सर्वसाधारणको आवागमन र आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी शान्ति सुरक्षालाई भरपर्दो बनाउन र सेवा प्रवाहलाई सहज तथा सुरक्षित राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाएका छन् ।

प्रशासनले बैंक तथा वित्तीय संस्था, एटीएम बुथ, व्यापारिक प्रतिष्ठान र सपिङ मलमा खटिने सुरक्षा गार्डलाई उच्च सतर्कतामा राख्न तथा चौबीसै घण्टा नियमित पालोपहरा र प्रभावकारी निगरानीको व्यवस्था मिलाउन भनेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कार्यालय परिसर, भल्ट रुम, एटीएम बुथ, व्यापारिक प्रतिष्ठान र सपिङ मलका मुख्य प्रवेशद्वार, पार्किङ क्षेत्र तथा भीडभाड हुने स्थानमा जडान गरिएका सीसी क्यामेरा चौबीसै घण्टा चालु रहने र रेकर्डिङ हुने गरी दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ । क्यामेरामा प्राविधिक समस्या देखिए तत्काल मर्मतसम्भार गर्नसमेत प्रशासनले आग्रह गरेको छ ।

चाडपर्व तथा बिदाको अवधिमा सर्वसाधारणलाई नगद कारोबारमा असुविधा हुन नदिन बैंक तथा वित्तीय संस्थाले एटीएम बुथमा पर्याप्त नगद मौज्दात राख्नुपर्ने र मेसिन चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान वा सपिङ मल परिसरमा शंकास्पद व्यक्ति, वस्तु वा गतिविधि देखिएमा तथा आकस्मिक सुरक्षा सहयोग आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

यसैगरी, चाडपर्व तथा बिदाका समयमा एटीएममा प्राविधिक समस्या आएमा वा व्यापारिक प्रतिष्ठान तथा सपिङ मलमा आकस्मिक सुरक्षा समन्वय गर्नुपरेमा तत्काल सम्पर्क गर्न सकिने गरी जिम्मेवार व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ । तोकिएका व्यक्तिको नाम र सम्पर्क नम्बर नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउनसमेत भनिएको छ ।

सपिङ मल तथा ठूला व्यापारिक कम्प्लेक्समा चाडपर्वका समयमा हुन सक्ने भीडभाड व्यवस्थित गर्न, पार्किङ र प्रवेशद्वारमा आवश्यक सुरक्षा जाँचको प्रबन्ध मिलाउन तथा आकस्मिक सुरक्षा सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ । प्रशासनले जारी गरेका निर्देशनको पालना गरी सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न र सर्वसाधारणलाई सुरक्षित रूपमा आर्थिक कारोबार तथा किनमेल गर्ने वातावरण बनाउन सम्बन्धित सबै संस्थालाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार