२०८३ कार्तिक ४ गते , मंगलबार

भद्रपुरको सूर्य प्लाई फ्याक्ट्रीमा आगलागी, एक करोडभन्दा बढीको क्षति

sajilo news
झापा
२०८३ कार्तिक २ गते , आईतबार
भद्रपुरको सूर्य प्लाई फ्याक्ट्रीमा आगलागी, एक करोडभन्दा बढीको क्षति

झापाको भद्रपुरको सूर्य प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा अन्दाजी एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर बजारमा प्रदीप सरावगीले सञ्चालन गर्दै आएको फ्याक्ट्रीमा गएराति राति १२ः२० बजे अचानक आगलागी भएको हो ।

आगलागीबारे स्थानीयवासीले सीमा सुरक्षा गुल्म हेडक्वार्टर भद्रपुरमा जानकारी गराएपछि सुरक्षाकर्मी तथा स्थानीयवासी आगो नियन्त्रणमा खटिएका थिए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक विजय थापाको कमान्डमा १० जना सशस्त्र प्रहरी, वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक सञ्जीव चौधरीको कमान्डमा पाँच जना प्रहरी, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको दमकल, नगर प्रहरी तथा ५० देखि ६० जनासम्म स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । आगलागीबाट फ्याक्ट्रीभित्र रहेका मेसिन तथा प्लाइउड पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट करिब एक करोड ७० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार