बिर्तामोडको सुधार केन्द्रमा युवकको मृत्यु, कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी
झापाको बिर्तामोड नगरपालिका- १ स्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचारका लागि ल्याइएका एक युवकको मृत्यु भएपछि परिवारले सुधार केन्द्रलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन् ।
सो सुधार केन्द्रमा इलाम फाकफोकथुम वडा नं. २ कोल्बोटे बस्ने ३३ वर्षीय नरबहादुर बस्नेतको मृत्यु भएको हो । मादक पदार्थ सेवनको लत छुटाउन बस्नेतलाई ३ महिनासम्म सुधार केन्द्रमा राख्ने गरी असोज २५ गते परिवारले शान्ति समूह नेपाल सुधार केन्द्रमा भर्ना गराएका थिए । असोज २७ गते उनी बिरामी परेको खबर परिवारलाई दिइएको थियो । परिवार नआइपुग्दै बस्नेतको मृत्यु भइसकेको थियो ।
सुधार केन्द्रका सञ्चालकले बस्नेतलाई उपचारको लागि कञ्चनजंगा अस्पताल लगेकोमा यहाँ उपचार सम्भव नभएपछि बिर्ता सिटी अस्पताल पुर्याई चिकित्सकहरूले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । बिर्तासिटी अस्पतालको शव गृहमा आई आफ्नो दाजुको लास हेर्दा शरीरको विभिन्न भागमा चोटपटक देखेको मृतकका भाइ ३१ वर्षीय तारा बस्नेतले जाहेरीमा उल्लेख गरेका छन् । उनले बिर्तासिटीसँग बुझ्दा आफ्ना दाजुलाई अस्पतालमा ल्याउँदा खेरी नै मृत्यु भइसकेको बताएको जनाएका छन् ।
शान्ति समूह नेपाल सुधार केन्द्रमा रहेको सीसीटीभी फुटेज समेत चेकजाँच गर्दा आफ्ना दाजुलाई कोठाभित्र अस्पतालको बेड जस्तोमा हात खुट्टाहरू बाँधी सुताइरहेको र पीडाको कारण हल्ला गर्दा सोही कोठामा सुत्ने अन्य तीन–चार जना मानिसहरूसमेतले शरीरको भागमा थिची दाहिने हातमा डोरी बाँध्दै गरेको र सो मध्येको एक जनाले गालामा झापड हानेको तथा एक जनाले लट्ठी बोकेको देखेपछि शङ्का लागेर सोधपुछ गर्दा सुधार केन्द्रबाट समेत विश्वासिलो जवाफ नपाएपछि सुधार केन्द्रकै लापरबाहीको कारण दाजुको मृत्यु भएको उनले बताएका छन् । बस्नेतलाई सुधार केन्द्रमा गरिएको व्यवहारको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।