बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार
बलिउड अभिनेता टाइगर श्राफ सवार कारमाथि मुम्बईको जुहू क्षेत्रमा गोली प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा अभिनेता श्राफ सकुशल रहे पनि उनका चालक र नजिकै रहेका एक अटो चालक घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार फुटबल खेलेर कारमा फर्किरहेका श्राफ जुहूस्थित पुष्पा पार्क नजिक पुग्दा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनको कारलाई लक्षित गरी गोली चलाएका थिए। गोली चलेपछि घटनास्थलमा त्रास फैलिएको थियो भने आसपासका क्षेत्रमा मानिसहरूको भीड जम्मा भएको बताइएको छ।
घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको छ। श्राफलाई भने कुनै चोट नलागेको बताइएको छ।
घटनापछि मुम्बई प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको जाँच गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ। गोली प्रहारमा संलग्न व्यक्तिको पहिचान र घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।
यसैबीच, सामाजिक सञ्जालमा लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित व्यक्तिहरूले घटनाको जिम्मेवारी लिएको दाबीसहित पोस्ट सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त पोस्टमा सलमान खानसँग काम गर्ने व्यक्तिहरूलाई लक्षित गर्ने चेतावनीसमेत दिइएको बताइएको छ। यद्यपि, पोस्टको सत्यता तथा घटनामा उक्त गिरोहको संलग्नताबारे प्रहरीले आधिकारिक पुष्टि गरेको छैन।
अभिनेता ज्याकी श्राफका छोरा टाइगर श्राफ बलिउडका चर्चित अभिनेता हुन्। उनले ‘हिरोपन्ती’, ‘बागी’, ‘वार’ र ‘ए फ्लाइङ जट’ लगायतका चलचित्रमा अभिनय गरेका छन्। प्रहरीको अनुसन्धान जारी रहेकाले गोली प्रहारको उद्देश्य र संलग्न व्यक्तिबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।