राष्ट्रसेवक साकोसको स्थापना दिवस : शैक्षिक सामग्री वितरण, उत्कृष्ट सदस्यलाई सम्मान
(रोहित काफ्ले) भद्रपुर। निजामती सरकारी सेवामा रहेका राष्ट्रसेवक कर्मचारीहरूले संस्था दर्ता गरी सञ्चालन गर्दै आएको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले विविध रचनात्मक कार्यक्रमका साथ आज बुधबार २७ औँ स्थापना दिवस मनाएको छ ।
संस्थाले यो अवसरमा आज बिहान झापाको अर्जुनधारा–११ स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीलाई स्कूल ब्याग र शैक्षिक सामग्री वितरण तथा दिउँसो संस्थाकै भवनमा संस्थाका ज्येष्ठ सदस्य एवम् कारोबारमा उत्कृष्ट सदस्यहरूलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो ।
मुख्यरुपमा, नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरू सदस्य रहेको राष्ट्रसेवक साकोसका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईँको नेतृत्वमा अर्जुनधारा पुगेको संस्थाका पदाधिकारी–सदस्य एवम् संगठनका पदाधिकारी–सदस्य तथा अग्रज संगठकहरुको टोलीले जुनकिरी सार्वजनिक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत संगठनका अग्रज संगठन देवराज कार्की, राष्ट्रसेवक साकोस झापाका निवर्तमान अध्यक्ष वशिष्ठ अधिकारी, उपाध्यक्ष तेजेन्द्र न्यौपाने, सचिव शेषराज पौडेल, सल्लाहकार तथा संस्थाका पूर्व अध्यक्ष डिल्ली दाहाललगायतले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
यसैगरी, भद्रपुर, चन्द्रगढीस्थित संस्थाकै सभा हलमा आयोजित समारोहका बीच ज्येष्ठ पुरुष सदस्य दाताराम दाहाल र ज्येष्ठ महिला सदस्य चन्द्रकला गौतमलाई सम्मान गरिएको थियो भने उत्कृष्ट सदस्यतर्फ मायादेवी ढुङ्गेल, गम्भीर तामाङ, आशा कार्की, तारणीप्रसाद चौधरी र फुचमान भुजेललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईँको अध्यक्षतामा सचिव शेषराज पौडेलले सञ्चालन गरेको समारोहका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका उपाध्यक्ष नारायण भट्टराईले सम्मानित सदस्यहरूलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेका थिए ।