झापाकाे ज्यामिरगढीमा कुटपिटबाट एक जनाको मृत्यु, एक पक्राउ
झापाको ज्यामिरगढीमा सामान्य विवादपछि भएको कुटपिट घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा
मेचीनगर नगरपालिका–१५ निलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार गएराति करिब १० बजेकाे समयमा ज्यामिरगढीका स्थानीय श्रेष्ठ र झापा प्लाई उद्योगमा ज्याला मजदुरी गर्ने दमौली घर बताउने अन्दाजी ३५ वर्षीय रामबहादुर गौतमबीच सामान्य भनाभनपछि कुटपिट भएकाे थियाे ।
कुटपिटबाट श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा पुगेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीकाे टाेली घटनास्थल पुगेकाे थियाे । घाइते श्रेष्ठलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा आज बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
कुटपिटमा संलग्न गौतमलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।