२०८३ जेष्ठ १९ गते , मंगलबार

झाडीमा ब्राउन सुगर फाल्ने एक युवक भद्रपुरबाट पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ १८ गते , सोमबार
झाडीमा ब्राउन सुगर फाल्ने एक युवक भद्रपुरबाट पक्राउ

भारतबाट नेपालतर्फ लागूऔषध ब्राउन सुगर ल्याउँदै गरेका एक युवक झापाको भद्रपुरबाट पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक युवराज श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले आज अपराह्न ४ः३० बजे भद्रपुर नगरपालिका–४ डाँगीबारी क्षेत्रमा शङ्कास्पद अवस्थामा हिँडिरहेका ती युवकलाई नियन्त्रणमा लिएको हो।

कचनकवल गाउँपालिका–४ बनियानी घर भई हाल बिर्तामोड नगरपालिका–४ मेघाबारी बस्दै आएका अन्दाजी २३ वर्षीय हेमन्त विश्वकर्माले प्रहरी टोली देख्नासाथ आफ्नो दाहिने हातमा बोकेको पोको झाडीमा फाल्न खोजेका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा प्लास्टिकमा पोको पारी लुकाइछिपाइ ल्याइएको प्लास्टिकबाहेक ५ ग्राम १२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । 

लागुऔषधसहित पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरले जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको छ। भद्रपुर क्षेत्र भारत–नेपाल सीमासँग जोडिएको भएकाले पछिल्लो समय ब्राउन सुगर ओसारपसारका घटनामा वृद्धि भइरहेको छ।

सम्बन्धित समाचार