लोक साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण गर्न मुकारुङ्गको आग्रह
झापा । वरिष्ठ गीतकार ,सङ्गीतकार ,गायक तथा लोक साहित्य , सङ्गीत, कला संस्कृति अन्वेषक (अनुसन्धान कर्ता) बुलु मुकारुङ्गले लोक साहित्य , सङ्गीत, कला, संस्कृति, लोकबाजाको संरक्षण , सम्वद्र्धन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
साहित्य चौतारी बिर्तामोड झापाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ गीतकार ,सङ्गीतकार ,गायक मुकारुङ्गले मौलिक संस्कृति भन्दा पाश्चात्य संस्कृतिमा रमाउने गर्दा पछिल्लो समय लोक साहित्य , सङ्गीत, कला, संस्कृति, लोकबाजा लोप हुने क्रम बढ्दो रहेकोले त्यसको संरक्षण , सम्वद्र्धन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
नेपालका विविध जातजाति, धर्म, संस्कृति, संस्कार, चाडपर्व नै नेपालको पहिचान र सम्पत्ति भएकाले त्यससँग जोडिएका साहित्य , सङ्गीत, कला, संस्कृति, लोकबाजाहरूको विशेष महत्त्व रहेकाले त्यसको संरक्षण सम्वद्र्धन गर्न आफू लागी परेको बताउँदै उनले लोकबाजाहरूबारे सोधखोज गरी पुस्तक नै प्रकाशन गर्ने लक्ष्यका साथ अभियानमा आफू जुटेको जानकारी दिए ।
सबै जातजातिको भाषा, धर्म, संस्कार, संस्कृति ,लोकबाजाहरूको संरक्षण र सम्बद्ध गर्ने तर्फ नलागेमा पुरै लोप हुने प्रति उनले सचेत गराउँदै उनले साहित्य चौतारी बिर्तामोड झापाले साहित्य ,कला, सङ्गीतको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले वरिष्ठ गीतकार ,सङ्गीतकार ,गायक तथा लोक साहित्य , सङ्गीत, कला संस्कृति अन्वेषक (अनुसन्धान कर्ता) बुलु मुकारुङ्गलाई स्वागत सम्मान गर्दै संस्थाले गरेको गतीविधीबारे जानकारी गराएका थिए ।
साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार शिव शंकर थापा, कोषाध्यक्ष भवानी गौतम, सदस्य टीका भट्टराई नेपाल, पूर्व उपाध्यक्ष कृष्ण योञ्जन, चलचित्र निर्देशक दिनेशराज ढुङ्गाना, गायकहरू युवराज पोर्तेल ,मनिका चुँडाल लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाकी सदस्य सुनिता तामाङले गरेकी थिइन् ।