सामाजिक सञ्जालमा माधव नेपाल र सूर्य थापाको जुहारी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा जुहारी नै चलेको छ। एमाले कार्यदलको सहमति पछि सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको अभिव्यक्ति प्रति माधव नेपालले असन्तुष्टि जनाउँदै लामो स्टाटस नै लेखे। त्यसको जवाफमा थापाले फेरि जवाफ फर्काए।
नेता नेपालले संसद पुनस्र्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा गरिएको हस्ताक्षरबाट आफूहरु पछि नहटेको बताएका छन्। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका एमालेका २३ जना सांसदहरु सबै एकसाथ रहेको भन्दै नेता नेपालले आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको उल्लेख गरेका छन्।
पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा भएको १० बुँदे सहमतिमा प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने उल्लेख गरिएको छ। यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस सभापति देउवाको साथमा अब १ सय २३ जना मात्रै निवर्तमान सांसद रहेको भन्दै सामाजिक संजालमा लेखेपछि त्यसको जवाफमा नेता नेपालले फेसबुक स्टाटस लेख्दै सहमतिको गलत व्याख्या गरिएको बताए।
‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ। यो ब्याख्या गलत र अस्वीकार्य छ।’ नेता नेपालले लेखेका छन्। ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या मान्य नहुने स्पष्ट पार्दछौं।’
नेता नेपालको स्पष्टीकरणपछि प्रधानमन्त्रीका सल्लाहकार थापाले अर्को स्टाटस लेख्दै आफूले कांग्रेस सभापति देउवालाई लक्षित गरेर लेखेको तर जवाफ अन्यत्रैबाट आएको उल्लेख गरेका छन्। नेता नेपालको प्रष्टिकरण अदालतको निर्णय प्रभावित पार्न र देउवालाई आश्वस्त पार्न आएको थापाको आरोप छ। थाहाखबरबाट