टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित
झापा । आईसीसी टी–ट्वान्टी विश्वकपमा भारतले पहिलो जित निकालेको छ। सुपर १२ को समूह २ अन्तर्गत अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले तीन खेलमा पहिलो जित दर्ता गरेको हो। जितसँगै भारतले सेमिफाइनलको सम्भावना जिवितै राखेको छ। यता चार खेल खेलेको अफगानिस्तानको यो दोस्रो पराजय हो। यस अघि अफगानिस्तानले पाकिस्तानसँग हार ब्योहोरेको थियो। तर उसले स्कटल्यान्ड र नामिवियालाई पराजित गरेको थियो।
बुधबारको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन जोड्न सक्यो। अफगानिस्तानका लागि करिम जन्नतले ४२ तथा कप्तान मोहम्मद नावीले ३५ रनको योगदान गरे। रहमानुल्लाह गुरबाजले १९ रन जोडे । भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट हात पारे। जसप्रित बुमराह र रविन्द्र जडेजा एक–एक विकेट लिए।
यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ओभरमा दुई विकेट गुमाएर २ सय १० रन जोड्यो। रोहित शर्माले ७४ रन जोडे। केएल राहुलले ६९ रनको इनिङ्स खेले। हार्दिक पाण्ड्याले ३५ रन र रिशभ पन्तले २७ रनको योगदान गरे। अफगानिस्तानका करिम जनत र गुलबदिन नइबले एक–एक विकेट हात पारे।