विश्वकप टी-२० : अस्ट्रेलियालाई सेमिफाइनलमा पहिलो पटक हराउन चाहन्छ पाकिस्तान
एजेन्सी । युएइमा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज उपाधि दाबेदार पाकिस्तान र अस्ट्रेलिया भिड्दै छन्। बिहिबार राति ७:४५ मा दुबईमा हुने खेलमा दुबै टीम फाइनल पुग्ने प्रयासमा हुने छन्। यो खेलमा जित हात पार्ने टिमले आइतबार हुने फाइनलमा न्यूजिल्यान्डको सामना गर्ने छ। यसअघि वेस्टइन्डिजमा २०१० मा भएको टी-२० विश्वकपको सेमिफाइनलमा यि दुई टिमबिच प्रतिस्पर्धा हुँदा पाकिस्तानमाथि अस्ट्रेलियाले रोमाञ्चक रुपमा खेल जितेको थियो। त्यसको बदलाका लागि समेत पाकिस्तान मैदानमा हुने छ।
अस्ट्रेलिया र पाकिस्तानबीच अहलेसम्म समग्रमा २३ खेल हुँदा अस्ट्रेलियाले ९ खेलमा जित निकाल्दा पाकिस्तानले १२ खेलमा जित हासिल गरेको छ। दुई खेल भने नतिजाविहीन भएका छन्।
त्यसो त पाकिस्तानले अहिलेसम्म आईसीसीले आयोजना गरेको इभेन्टका नकआउट खेलमा अस्ट्रेलियालाई कहिले पनि जितेको छैन्। जसमा १९८७ को विश्वकप सेमिफाइनल, १९९९ को विश्वकप फाइनल तथा २०१० को टी-२० विश्वकप सेमिफाइनल र २०१५ को विश्वकप क्वाटर फाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको थियो।
यो इतिहास समेत तोड्नु पर्ने चुनौतीसमेत पाकिस्तानलाई रहको छ। अस्ट्रेलिया भने यो रेकर्ड कायम राख्न चाहन्छ। अस्ट्रेलियाले जारी विश्वकपमा सुरुवात संघर्षपूर्ण रहेपनि पछिल्ला खेलमा भने आफ्नो लय समात्न सफल भएको छ। उसका लागि एरोन फिन्च तथा डेभिड वार्नरले सुरुवातमा खराब फर्मलाई निरन्तरता दिएपनि पछिल्ला केहि खेलमा पुन लय समाते पछि अस्ट्रेलिया उत्साही छ।
पाकिस्तानका लागि भने युएई अनुकुल छ। उसले पछिल्लो एक दशक यता युएईलाई घरेलु मैदानका रुपमा प्रयोग गरेकाले पनि युएईमा पाकिस्तानी टीम पुर्ण रुपमा अभ्यस्त छ। जारी प्रतियोगितामा पाकिस्तान एकमात्र अपराजित टिमका रुपमा रहेकाले अस्ट्रेलियालाई पनि सहज भने हुने छैन्। शाहीन शाह अफ्रिदीको घातक बलिङ तथा मोहम्मद रिजवान तथा बाबर अजामको उतृकृष्ट ब्याटिङले पाकिस्तान सानदार बनेको छ। साथै पछिल्लो क्रममा शोएब मलिक र आसिफ अलीको इनिङ झनै लोभ लाग्दो छ।