२०८२ माघ ५ गते , सोमबार
कमल प्रथम उपाध्यक्ष कप सुरु, बिर्तामोड र बाह्रदशीको विजयी सुरुवात
झापा। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता मङ्गलवार देखि सुरु भएको छ ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् । कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच बाह्रदशीका सुदिप कार्की घोषित भएका छन् । उनलाई नगर दुई हजार सहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकालाई २०–२५, १८–२५ को सोझो सेटमा पराजित गर्दै बिर्तामोड नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
झापा जिल्ला भित्रका पालिका स्तरीय हुने यस प्रतियोगितामा झापा जिल्लाभरिका १० वटा पालिकाहरूको सहभागिता रहेको खेल संयोजक सुदिप राईले बताएका छन् । संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिकाको सहभागिता रहनेछ । प्रतियोगिता अपराह्न १ बजे देखि सुरु हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए ।
प्रतियोगिता अन्तर्गत भोलि बुधवारको पहिलो खेलमा शिवसताक्षी नगरपालिकाले कनकाई नगरपालिकाको सामना गर्ने छन् भने गौरादह नगरपालिकाले भद्रपुर नगरपालिकासँग खेल्ने समिति सहसंयोजक तेजकुमार राईले बताए ।
प्रतियोगिताको पहिलो चरणमा बाईँ पाएर बसेको झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकाको सामना गर्नेछन् भने दमक नगरपालिकाले शिवसताक्षी र कन्काईबीच भएको खेलको विजयी टिमको सामना गर्नेछ ।
खेल बिहानको ८ बजे देखि हुने आयोजक समितिले जनाएको छ ।
उपाध्यक्ष कपको उद्घाटन समारोह कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडा सदस्य चतुर्भुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सबै वडाका वडाध्यक्षहरू, गाउँपालिका भित्रका सबै पार्टी प्रतिनिधि, स्थानीय समाजसेवीहरूको उपस्थित रहेको थियो । कार्यक्रम सदस्य सचिव सूर्य प्रसाद न्यौपानेले सञ्चालन गरेको थियो भने खेल संयोजक सुदिप थुलुङ राईले स्वागत मन्तव्य राखेका थिए ।