विश्वकप फाइनल हेर्न एउटा टिकट मूल्य करिब ३० करोड नेपाली रुपैयाँ
विश्वकप फुटबलको फाइनल खेलको एक थान टिकटका लागि अब करोडपति नै हुनुपर्ने स्थिति सिर्जना भएको छ। न्युयोर्क न्युजर्सी स्टेडियममा हुने अर्जेन्टिना र स्पेनबिचको फाइनल भिडन्त अगाडि फिफाको आधिकारिक रिसेल (पुनः बिक्री) प्लेटफर्ममा टिकटको मूल्य २३ लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ भन्दा बढी) सम्म पुगेको छ।
यस फाइनल खेललाई संयुक्त राज्य अमेरिकाको इतिहासमै सबैभन्दा महँगो खेलकुद इभेन्टको रूपमा हेरिएको छ। ३९ वर्षीय लियोनेल मेसीको सम्भवतः अन्तिम विश्वकप खेल र स्पेनका युवा स्टार लामिन यामालको भिडन्त हेर्नका लागि प्रशंसकहरू ऐतिहासिक रूपमा ठुलो रकम खर्चिन तयार देखिएका छन्।
फिफाको आधिकारिक बिक्री च्यानलबाट सबै टिकटहरू हप्ताको सुरुमै समाप्त भइसकेका थिए। बुधबारसम्म केही टिकटहरू ७ हजार डलरमा उपलब्ध भए पनि शनिबारसम्म आइपुग्दा प्राथमिक बजारमा एउटै टिकट बाँकी रहेन। अहिले रिसेल मार्केटमा न्यूनतम १० हजार डलरदेखि अधिकतम २३ लाख डलरसम्ममा टिकटहरू बिक्री भइरहेका छन्।
टिकट विज्ञ स्कट फ्रेडम्यानका अनुसार, फिफाले 'स्लो टिकटिंग' (बजारमा माग बढाउन थोरै-थोरै गरेर टिकट उपलब्ध गराउने प्रक्रिया) र 'डाइनामिक प्राइसिङ' (माग अनुसार मूल्य घटबढ हुने प्रणाली) को प्रयोग गरेर अत्यधिक नाफा कमाएको छ।
सुरुमा अमेरिकाको आन्तरिक राजनीति र भिसा नीतिका कारण दर्शक नआउने आशंका गरिए पनि प्रतियोगिताका अधिकांश खेलहरू भरिभराउ स्टेडियममा खेलाइएका छन्। फिफाका अनुसार समूह चरणका खेलहरूमा मात्र ९९.७ प्रतिशत सिटहरू भरिएका थिए।
यस पटक समूह चरणको खेलको प्रारम्भिक टिकट मूल्य नै ५७५ डलर तोकिएको थियो, जुन सन् २०२२ को कतार विश्वकपको तुलनामा दोब्बर भन्दा बढी हो। कोलम्बिया विश्वविद्यालयका सह-प्राध्यापक एडम एल्माचटौबका अनुसार फिफाको 'डाइनामिक प्राइसिङ' प्रणालीमा पारदर्शिता नहुँदा फ्यानहरूमाझ केही आक्रोश समेत देखिएको थियो।
दोस्रो बजारमा टिकट बिक्री गर्ने माध्यम 'सिटगिक' (SeatGeek) का अनुसार, यस फाइनल खेलको औसत टिकट मूल्य नै ११,००० डलर नाघेको छ। यो मूल्य सन् २०२४ को चर्चित 'सुपर बोल' (Super Bowl) खेलको भन्दा ८ प्रतिशत बढी हो, जसले यसलाई इतिहासकै महँगो खेल बनाएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यस विश्वकपलाई इतिहासकै सबैभन्दा समावेशी बनाउने वाचा गरे तापनि मानवअधिकारवादी र फुटबल समर्थक संघहरूले यसको आलोचना गरेका छन्। फुटबल सपोर्टर्स युरोपका कार्यकारी निर्देशक रोनान इभानले भे, "यो विश्वकप केवल 'भाग्यमानी केही' का लागि मात्र सिमित भयो। युरोपका धनी देशका नागरिक जसलाई अमेरिका जान भिसा चाहिँदैन र जसले महँगो टिकट किन्न सक्छन्, उनीहरू मात्र रंगशालासम्म पुग्न पाए। गरिब र भिसाको समस्या झेल्ने वास्तविक फुटबल प्रशंसकहरू यसबाट बञ्चित भए।"
फुटबल खेल मजदुर वर्गको खेलबाट क्रमशः धनीहरूको मनोरञ्जनको साधन बन्दै गएको भन्दै चौतर्फी चिन्ता समेत व्यक्त गरिएको छ।