२०८२ माघ ५ गते , सोमबार
उपाध्यक्ष कप भलिबल प्रतियोगिता : अन्तिम चारमा भद्रपुर, कनकाई, बाह्रदशी र झापा
झापा । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको दोस्रो चरणको खेल सम्पन्न भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल प्रतियोगिताको दोस्रो राउन्ड सम्पन्नसँगै अन्तिम चारमा कनकाई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकाले आफ्नो ठाउँ सुरक्षित गरेको छ ।
आज भएको पहिलो खेलमा कनकाई नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई २ सुन्यको सोझो को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् । खेलको म्यान अफ दि म्याच कनकाईका जर्सी नं। ८ का रोहित विक घोषित भए । उनलाई नगद सहित मेडल प्रदान गरिएको थियो ।
त्यस्तै आज भएको दोस्रो खेलमा भद्रपुर नगरपालिकाले गौरादह नगरपालिकालाई २ सुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा आफूलाई सुरक्षित गरेका छन् । खेलको म्यान अफ दि म्याच भद्रपुरका अभि राजवंशी भएका थिए ।
पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकालाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेको बिर्तामोड नगरपालिका भने पराजित भएका छन् । झापा गाउँपालिकासँग २–१ को सेटमा पराजित भएका छन् । जितसँगै झापा गाउँपालिका अन्तिम चारमा प्रवेश गरेको छ । दुईबिच भएको खेलमा म्यान अफ दि म्याच झापा गाउँपालिकाका रोहित सिवाकोटीले प्राप्त गरेका थिए ।
अन्तिम चार अन्तर्गतको भोलिको खेल बाह्रदशी नगरपालिका र कनकाई नगरपालिकाबिच हुनेछ भने दोस्रो खेल भद्रपुर नगरपालिका र झापा गाउँपालिकाबिच हुने आयोजक समितिले जनाएको छ । दुवै खेलबाट विजेता टोलीले फाइनलको यात्रा गर्नेछ ।
प्रतियोगितामा प्रदेश नं। १ का अम्पायर रोशन दाहाल, मेचीनगरका सञ्जय अधिकारी, सुनसरीका प्रकाश चौधरी, प्रज्वल धिमाल, अविनाश धिमाल र असीम राईले अम्पायरको भूमिका निर्वाह गरिरहेका छन् ।
केरखा खेल मैदानमा भइरहेको प्रतियोगिताको भोलिको पहिलो सेमिफाइनल खेल बिहान ८ बजे देखि हुनेछ भने प्रतियोगिताको फाइनल खेल दिनको ठिक १ बजे हुने आयोजक समितिका अध्यक्ष चतुर्भुज सुवेदीले बताए ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सुदिप राईले बताए ।
समितिका सहसंयोजक तेजकुमार राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिकाको सहभागिता रहेको छ ।