२०८३ जेष्ठ १२ गते , मंगलबार

माओवादी दमकको एक वर्षे कार्ययोजना : जहाँ समस्या, त्यहाँ माओवादी

sajilo news
पार्थ मण्डल
२०७८ माघ १६ गते , आईतबार
माओवादी दमकको एक वर्षे कार्ययोजना : जहाँ समस्या, त्यहाँ माओवादी
माओवादी दमकको एक वर्षे कार्य योजना ः जहाँ समस्या, त्यहाँ माओवादी
दमक । नेकपा (माओवादी केन्द्र) दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्य योजना ल्याउँदै ‘जहाँ समस्या, त्यहाँ माओवादी’को नारा ल्याएको हो ।

दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर भएका कारण पनि माओवादीले पार्टीको क्रियाशीलता बढाएको हो । पार्टीको संगठन सुधार गर्न र जनताको समस्यालाई प्रत्यक्ष सहभागितामा समाधान गर्न यो अभियानको सुरुवात गरिएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘हाम्रो आधार श्रमजीवी र सर्वहारा वर्गका जनता हुन् । उनीहरूको समस्यामा हामी अघि सर्नुपर्छ । उनीहरूको समस्याबाट भागेर पार्टी कहीँ पुग्दैन,’ बस्नेतले भने, ‘त्यही कारण यो अभियानको सुरुवात गरेका हौँ । जनताका साना समस्यामा साथ दिनु हाम्रो दायित्व हो । पार्टीलाई वर्गीय महत्त्व राख्ने समस्या समाधान र कार्यक्रम निर्माणमा केन्द्रित गर्नेछौँ ।’

यस्तै, माओवादी केन्द्रले एक वर्षे कार्य योजना नगर समिति बैठकबाट पारित गर्दै स्वास्थ्य, शिक्षा वा रोजगारसँग सम्बन्धित कुनै पनि सामाजिक काममा प्रत्येक वडाले परिणाम देखिने गरी नेतृत्व लिनुपर्ने वा सहयोग गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधार, विकास निर्माणसँग सम्बन्धित कम्तीमा एक काम प्रत्येक वडाले सम्पन्न गर्नुपर्ने कार्य योजनामा उल्लेख छ । महिनामा प्रत्येक वडाले कम्तीमा एक सय घरमा घरदैलोको कार्यक्रम गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । जसले माओवादीको संगठन सुदृढीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘प्रत्येक महिना  र वार्षिक रूपमा वडाहरूको कामको मूल्याङ्कन गरी पुरस्कृत गर्ने छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘पार्टी कमिटीमा अबद्धलाई कार्य प्रगतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेँलो र रातो कार्डको व्यवस्था गरिनेछ ।’

माओवादीले दमकमा रहेको १० वटै वडामा एउटा वडामा कम्तीमा पाँच वटा टोल समिति निर्माण गर्ने उनले बताए । यसैबिच नेकपा माओवादी केन्द्र दमक नगर समितिले नगरका दश वटै वडामा वडा कार्यालय स्थापना गरेको छ । माओवादी केन्द्र दमक नगर समितिले आइतबार शहीद दिवसको अवसरमा भर्चुअल माध्यमबाट दश वटै वडा कार्यालय उद्घाटन गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
माओवादी केन्द्र प्रदेश–१ अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले भर्चुअल माध्यमबाट एकै पटक दश वटा वडा कार्यालय उद्घाटन गरे । वडा कार्यालय उद्घाटन गर्दै मिक्सोले पार्टीका स्थानीय तहका कमिटीलाई चुनाव केन्द्रित भएर काम गर्न निर्देशन दिए । उनले जनताका साना–साना समस्या बुझेर काम गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

सम्बन्धित समाचार