काँग्रेसले कचनकवल गाउँपालिका- ५ मा पनि प्यानल नै जित्यो
झापा । नेपाली काँग्रेसले कचनकवल गाउँपालिका- ५ मा प्यानल नै जितेको छ । काँग्रेसका उम्मेदवार मोहम्मद नुर आलम वडा अध्यक्षमा जितेका हुन् । निकटतम प्रतिस्पर्धी राप्रपाका देवेन्द्र प्रसाद राजवंशीलाई ६६२ फराकिलो मतान्तरले हराउँदै काँग्रेसका आलम वडा अध्यक्षमा निर्वाचित भएका हुन् । आलमले १४५० र राजवंशीले ७८८ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका फुलचन्द्र गणेश १४ मत ल्याए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा ५ राप्रपाले जितेको थियो । त्यस्तै वडा सदस्यमा काँग्रेसका कृष्ण प्रसाद गणेश १२८३, मो। रागिव हुसेन १२५०, महिला सदस्यमा प्रभा राजवंशी १३९४ र दलित महिला सदस्यमा मेनकी सरदार १३७७ मत ल्याएर विजयी भएका छन् । काँग्रेसले यसअघि वडा नम्बर १, ३ र ४ मा वडा अध्यक्ष जितिसकेका छन् । गाउँपालिकाको प्रमुख पदमा काँग्रेस र नेकपा एमाले गठबन्धन गरी चुनाव लडे पनि वडाहरूमा खुला प्रतिस्पर्धा गरेका थिए ।