२०८३ जेष्ठ १२ गते , मंगलबार

हल्दिबारी गाउँपालिकामा राप्रपाको बहुमत, अध्यक्षमा पुनः लिङदेन र उपाध्यक्षमा मैनाली निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ४ गते , बुधबार
हल्दिबारी गाउँपालिकामा राप्रपाको बहुमत, अध्यक्षमा पुनः लिङदेन र उपाध्यक्षमा मैनाली निर्वाचित

झापा । राप्रपाले हल्दिबारी गाउँपालिकामा बहुमत ल्याउँदै विजयी भएको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य जितेको छ । गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ हुन् । उनले ६८५६ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बर बहादुर गिरीलाई २१९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । गिरीले ४६६६ मत ल्याए । त्यस्तै अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका तुलसी प्रसाद ओलीले २७५८ र माओवादी केन्द्रका भवानी प्रसाद दंगालले ११४९ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मी देवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले ५०७८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ता देवी गौतमले ४१०६ मत ल्याएकी छिन् । माओवादी केन्द्रका टिका देवी राउतले १४५३ र काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत ल्याएका छन् ।  

वडातर्फ हल्दिबारी- १ मा राप्रपाका प्यानलसहित देवी बहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् । हल्दिबारी- ४ मा राप्रपाकै प्यानलसहित वडा अध्यक्षमा सन्त कुमार थापा निर्वाचित भएका छन् । हल्दिबारी- २ मा माओवादीका शुक लाल राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् । हल्दिबारी- ३ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा विष्णु प्रसाद ओली निर्वाचित भएका छन् । हल्दिबारी- ५ मा काँग्रेसका खड्ग बहादुर लावती वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

सम्बन्धित समाचार