२०८३ जेष्ठ १२ गते , मंगलबार

बिर्तामोड नगरपालिकालाई ज्ञापनपत्र : निजी विद्यालयमा बढाएको शुल्कदेखि फोहोरमा लिइने शुल्क हटाउनसम्म माग

sajilo news
झापा
२०७९ जेष्ठ १८ गते , बुधबार
बिर्तामोड नगरपालिकालाई ज्ञापनपत्र : निजी विद्यालयमा बढाएको शुल्कदेखि फोहोरमा लिइने शुल्क हटाउनसम्म माग

नेकपा एकीकृत समाजवादी बिर्तामोड नगर कमिटीले फोहोर मैला उठाउने नाममा लिइने शुल्क तत्काल हटाउन माग गरेको छ । उसले बिर्तामोड नगरपालिका फोहोर मैलाको व्यवस्थापनजस्तो विषयलाई निजी क्षेत्रलाई सुम्पिएर आफ्नो दायित्वबाट पन्छिएको ठहर गर्दै हालको व्यवस्था खारेज गरेर नगरपालिकाकै संयन्त्रद्वारा फोहोर मैलाको व्यवस्थापन गर्ने व्यवस्था गर्न माग समेत गरेको छ ।

बुधवार बिर्तामोड नगरपालिकाकाका नगर प्रमुख र उपप्रमुखलाई ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । बिर्तामोडको सडक विभागमा रहेको सरकारी जग्गामा सार्वजनिक शौचालय बनाउन सर्वपक्षीय छलफलको प्रारम्भ गरी तत्काल निर्माण कार्य थालनी गर्न , कृषि, पशु पालक किसानलाई मल, बीउ समयमै उपलब्ध हुने वातावरण मिलाउन , कृषि बिमा, पशु बिमाजस्ता सहुलियत उपलब्ध गराउनका लागि तत्काल पहल थाल्न , कृषि औजार र अन्य उपकरण प्रदान गर्न , बिर्तामोडको नगर अस्पतालको निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाएर निर्माण कार्यलाई तीव्रता दिन र सो अस्पताललाई बिमाको केन्द्र बनाउनका लागि पहल थाल्न , सुकुम्वासी, भूमिहीन, घरबारबिहीनहरुको तथ्याङ्क लिएर भूमि आयोगसँगको समन्वयमा तत्कालै धनीपूर्जा वितरणका लागि पहल गर्न , हाल भूमि आयोगमा पुर्‍याउनुपर्ने त्यस्ता फाइलहरू नगरपालिकामै थन्किएको भन्ने सूचना आएकोमा त्यस्तो भएको भए ती फाइल तत्काल आयोगमा पठाएर चाँडै सुकुम्बासीहरुलाई नगरवासी बनाउने अभियानको थालनी गर्न माग गरिएको छ ।

त्यस्तै नगरपालिका जनप्रतिनिधिविहीन भएको र मुलुक निर्वाचनमा होमिएको समयमा गरिएको निजी क्षेत्रका स्कुलहरूको मनपरी र हचुवा तरिकाले गरिएको शुल्क वृद्धि फिर्ता लिने व्यवस्था गर्न र त्यसरी गरिएको निर्णय सार्वजनिक गर्दै पुनः सर्वदलीय, सर्वपक्षीय र अभिभावकहरूको बैठकद्वारा वैज्ञानिक तरिकाले शुल्क समायोजन गर्ने निर्णय गर्न र नगरका विभिन्न क्षेत्रमा खानेपानी, बिजुलीको अझै पनि अभाव रहेकाले त्यसका लागि यथोचित बजेटको व्यवस्था गर्न समेत माग गरिएको छ ।

नगर अध्यक्ष श्रीप्रसाद सिटौला र सचिव कृष्ण विष्टद्वारा हस्ताक्षरित ज्ञापनपत्र नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालाई बुझाइएको थियो ।

सम्बन्धित समाचार