२०८३ जेष्ठ १२ गते , मंगलबार

निर्वाचनमा अन्तर्घात गर्ने बाह्रदशीको एमाले वडा कमिटी नै बर्खास्त

sajilo news
झापा
२०७९ असार ५ गते , आईतबार
निर्वाचनमा अन्तर्घात गर्ने बाह्रदशीको एमाले वडा कमिटी नै बर्खास्त

स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्ने बाह्रदशी १ को नेकपा एमाले वडा कमिटी बर्खास्त गरिएको छ । अन्तर्घात गर्नेहरूलाई हटाएर एमालेको वडा कमिटी पुनर्गठन गरिएको छ । वडा कमिटीमा रहेका अध्यक्ष देवीबहादुर थापा , उपाध्यक्ष कुमार कोइरालालगायतलाई कारबाही गरिएको हो ।

ती दुवैले एमालेका वडाध्यक्ष पदका उम्मेदवार शम्भुसिंह राजवंशीलाई असहयोग गरी माओवादीका उम्मेदवार भूमिराज थापालाई सहयोग गरेका थिए । माओवादी उम्मेदवार भूमिराज थापाको उम्मेदवारीमा एमालेका देवीबहादुर थापा समर्थक बसेका थिए । त्यस्तै कोइराला माओवादीको लागि भोट माग्दै हिँडेका थिए । पार्टीको वडा नेतृत्वले अन्तर्घात गरेपछि एमालेका उम्मेदवारहरूले हार व्यहोर्नु परेको थियो ।

शनिवार भएको वडा भेलाले सो कारबाहीको निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य हरि राजवंशीको प्रमुख आतिथ्यमा भएको भेलामा क्षेत्र नं ३ का अध्यक्ष लक्ष्मण पाठक ,गाउँ कमिटी अध्यक्ष बुद्धराज कार्की , सचिव घनेन्द्र ढकाल , सहसचिव मानबहादुर राजवंशी , गङ्गा धमलालगायत वडा कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो । भेलाले श्यामकुमार तामाङको अध्यक्षतामा वडा कमिटी पुनर्गठन गरेको हो । जसमा पहिलाका सचिव हिरदानन्द राजवंशी , सहसचिव खेममाया राईलाई यथावत् राखिएको जनाइएको छ ।

सम्बन्धित समाचार