कचनकवलका गाउँपालिका प्रवक्ताको गैर जिम्मेवार अभिव्यक्तिप्रति राप्रपाले बुझाए ज्ञापनपत्र
झापा । कचनकवल गाउँपालिकाका प्रवक्ता चिन्तामणि खरेलले दिएको गैर जिम्मेवार अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गाउँ कार्य समितिले बिहीबार गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिकामा करार सेवामा कार्यरत ११ जना कर्मचारी निकालेको भन्दै पीडित कर्मचारीहरूले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई पुर्नवहालीको माग राख्दै ज्ञापनपत्र बुझाउने क्रममा ६ नम्बर वडा अध्यक्ष समेत रहेको खरेलले गैर जिम्मेवार अभिव्यक्ति (राप्रपाका कर्मचारी छानिछानी निकालिने छन) भन्ने शब्द बोलेका थिए ।
खरेलले बोलेको गैर जिम्मेवार अभिव्यक्ति अविलम्ब फिर्ता लिई सार्वजनिक रुपमा माफी माग्नु पर्ने लगायतको माग राख्दै राप्रपाका गाउँपालिका अध्यक्ष रविचन्द्र ओझासहितको कार्यकर्ताले गाउँपालिका अध्यक्ष राजवंशीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
कचनकवल ६ का अभिभावकिय भूमिका र जिम्मेवारीमा रहेका वडा अध्यक्ष खरेलले गैर जिम्मेवार ढङ्गले राप्रपालाई दोषारोपण लगाउनु कार्य अत्यन्त घृणित अशोभनीय र लज्जास्पद रहेको छ । यस अभिव्यक्तिले आमजनतामा भ्रम सृजना गरेकोप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा दुरासाय पूर्वाग्रही भावनाले हटाइएका करारका कर्मचारीलाई यथा स्थानमा अभिलम्ब बहाल गरियोस् र आगामी दिनमा पूर्वाग्रही पूर्ण कार्य बन्द गरियोस्, गाउँपालिकाका तत्कालीन जनप्रतिनिधिहरूले जनताको हितमा अति विपन्न परिवारलाई ग्यास चुलो वितरण योजना सञ्चालन गरेकोमा सो योजना रद्द गरी अति विपन्न परिवारलाई मार्कामा पार्ने काम भएको हुँदा सो योजना पुन कार्यान्वयनमा ल्याइयोस् पाठामारी देखि बालुबाडी सम्मको कालोपत्रे सडक गुणस्तरहीन भएकाले आवश्यक अनुगमन गरेर मात्र सिफारिस दिईयोस र चारआली केचना सडक खण्ड अन्तरगत लाहुर चौकदेखि केचनासम्म सडक बिच(बिचमा खाल्डाखुल्डी तथा ढुङ्गा जाली भत्किएकाले सम्बन्धित निकायसँग सम्पर्क गरी अभिलम्ब मर्मत सम्भार गरियोस् लगायतको माग राखिएको छ ।