प्रदेश १ को नाम कोचिला नभए विद्रोह हुन्छ : पूर्णसिंह राजवंशी
झापा । प्रदेश सांसद पूर्णसिंह राजवंशीले प्रदेश १ को नाम कोचिला प्रदेश हुनुपर्ने माग राखेका छन् । प्रदेशसभाको बैठकमा बोल्दै सांसद राजवंशीले कोच प्रदेश नामकरण नभए विद्रोह हुने चेतावनी समेत दिएका छन् ।
झापा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद राजवंशीले कोच पहिचानका बारेमा कुनै पनि राजनीतिक दलहरूले आवाज नउठाएको भन्दै दुख व्यक्त गरेका छन् । उनले भने, ‘परिवर्तनको आन्दोलनमा कोच जातिको कुनै योगदान छैन रु कोचको पहिचान मेटाउने सपना कसैले नदेख्नुहोस् ।’
सातै प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश १ को नामकरण गर्न नसक्दा आफू पनि दुखी भएको भन्दै सांसद राजवंशीले आदिम कालदेखि बसोबास गर्ने झापा, मोरङ र सुनसरीका कोच जातिको पहिचान मेटाउन नपाइने चेतावनी दिए । उनले कोचको आफ्नै भाषा, संस्कृति र पहिचान भएको बताए ।
कोचिला प्रदेशको नामकरणका लागि ३ लाख कोच समुदायको आवाज आफूले उठाएको बताउँदै राजवंशीले भने– राजनीतिक दलहरूले आदिवासी समुदायको पहिचानको कुरा उठाउन अप्ठ्यारो मानेकै कारण आफैले उठाएको छु । कोच समुदायको पहिचानमा खेल्ने प्रयास नगरियोस् । प्रदेशको नामकरणमा कोचिला समेट्न माग गर्दै पहिचानबादीहरुलाई कोच प्रदेशको लागि आवाज उठाउन आग्रह समेत गरेका थिए ।