२०८३ जेष्ठ १२ गते , मंगलबार

राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध खनिए एमालेका केन्द्रीय सदस्य प्रसाईँ

sajilo news
झापा
२०७९ श्रावण २३ गते , सोमबार
राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध खनिए एमालेका केन्द्रीय सदस्य प्रसाईँ

झापा । नेकपा (एमाले) सँग गठबन्धन गरेर यस पटक फेरि झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारी गरेका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनविरुद्ध एमाले केन्द्रीय सदस्य दुर्गाप्रसाद प्रसाईँ खरो उत्रिएका छन् ।

दुई दिनअघि राप्रपा सकियो भन्दै कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष तथा राप्रपाका केन्द्रीय सदस्य अन्जार आलम एमालेमा प्रवेश गरेको अफवाह फैलाएका प्रसाईँ यतिखेर राप्रपासँगै राप्रपा अध्यक्ष लिङ्देनको छवि बिगार्न उद्धत देखिएका हुन् ।

झापा क्षेत्र नं ३ बाटै प्रतिनिधिसभा सदस्य उठ्ने इच्छा राखेका प्रसाईँले केही दिनदेखि लगातार राप्रपा र राप्रपाका अध्यक्ष लिङ्देनको नकारात्मक टिप्पणी गर्दै आइरहेका छन् । अन्जार आलमले केपी ओलीसँगको भेटघाटमा खिचेको तस्बिरलाई प्रोपोगान्डा मच्चाउँदै प्रसाईँले दुई दिनअघि आलम एमालेमा प्रवेश गरेको भ्रामक प्रचार गरेका थिए । त्यसलाई आलम र लिङ्देनले खण्डन गरेको भोलिपल्ट प्रसाईँले सामाजिक सञ्जालमा आफ्नो भिडियो हालेर लिङ्देनको तीव्र विरोध जनाएका छन् ।

उनले भिडियोमा भनेका छन् ‘देश र विदेशमा रहनु भएका मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के जानकारी गराउन चाहन्छु भने राप्रपाका अध्यक्ष हाम्रा दाइ राजेन्द्र लिङ्देनको झुटो कुरामा झुटो प्रलोभनमा तपाईँहरू नपर्नु होला । किनभने उहाँ गणतन्त्र विरोधी अभियानमा हिँड्नु भएको छ र गणतन्त्रमै सांसद हुनु भएको छ । यदि राजा चाहिएको हो भने उहाँले जङ्गलमा , सडकमा बसेर आन्दोलन गरेर राजालाई स्थापित गराउनु नि । सदनमा बसेर उहाँको माग पुरा हुने छैन र उहाँलाई हाम्रो पार्टीले अब सहयोग गर्दैन । किनकि ५ वर्ष अगाडी सङ्घीय निर्वाचनमा हाम्रो पार्टीले सहयोग गरेर उहाँलाई संसद्मा पु¥यायो । र, उहाँले के गर्नु भयो भन्दा जतिखेरै गणतन्त्रविरुद्ध लडाई लड्नु भयो ।

साथै उहाँ गणतन्त्र चाहिँदैन भन्नुहुन्छ र त्यही गणतन्त्रमा सांसद बन्छु भनेर ‘अहिले के।पी। ओलीसँग मेरो कुरा भइसकेको छ । अब फेरि हाम्रो गठबन्धन हुन्छ । तपाईँले मलाई नै भोट हाल्नुपर्छ । राप्रपालाई , हलोलाई नै भोट हाल्नुपर्छ ’भन्दै हिँड्नु भएको छ । यो अब कदाचित हुँदैन । यस क्षेत्रका आम दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के भन्छु भने अब हाम्रै सूर्य चिन्हमा हामीले भोट हाल्ने अवसर पाउँछौ । ३ नं क्षेत्रमा कर्मठ , विकास प्रेमी , नढाँट्ने , सही मान्छे पार्टीले उम्मेदवार घोषणा गरेर पठाउँछ । तपाईँहरू प्रतीक्षा गर्नुहोस् । गठबन्धन राजेन्द्र दाइको लागि हो । गठबन्धन एमालेको लागि होइन । त्यसैले एमालेका उम्मेदवारलाई गठबन्धन आवश्यक छैन ।’

केही दिनअघि झापा क्षेत्र नं ३ का सांसद लिङ्देनले फेरि पनि आफू त्यही क्षेत्रबाट उठ्ने बताएका थिए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव जितेका सांसद लिङ्देनले यस पटक पनि एमालेसँग गठबन्धन गरेर निर्वाचनमा जाने सङ्केत दिएका छन् । एमालेसँग गठबन्धन गरेर लिङ्देनले झापा क्षेत्र नं ३ मा चुनाव लड्ने अवसर पाए प्रसाईँको चुनाव लड्ने सपना चकनाचुर हुने भएको छ । उनले आगामी मङ्सिर ४ गते घोषित प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं ३ मा लाखौँ खर्च गरिसकेका छन् । त्यही भएर प्रसाईँ लिङ्देनप्रति आक्रोशित देखिएको विश्लेषण गरिएको छ । उटपट्याङ बोली र व्यवहारले बारम्बार विवादमा परिरहने प्रसाईँको हर्कतका बारेमा लिङ्देनले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सम्बन्धित समाचार