२०८३ जेष्ठ १२ गते , मंगलबार

सत्ता गठबन्धनको कार्यदल संयोजकमा काँग्रेसका नेता सिटौला

sajilo news
झापा
२०७९ श्रावण २३ गते , सोमबार
सत्ता गठबन्धनको कार्यदल संयोजकमा काँग्रेसका नेता सिटौला

 पाँच दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको आज बसेको पहिलो बैठकले काँग्रेस पूर्व महामन्त्री सिटौलालाई संयोजकमा चयन गरेको हो ।

बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्ने सम्बन्धमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ । यसअघि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो ।

कार्यदलमा काँग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता सिटौला र सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने नेकपा (माओवादी केन्द्र)बाट नेताहरु वर्षमान पुन र देव गुरुङ रहेका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन् ।

सम्बन्धित समाचार