२०८३ जेष्ठ १२ गते , मंगलबार

झापा-५ बाट चुनाव लड्ने तयारीमा माओवादी युवा नेता रञ्जित तामाङ

sajilo news
झापा
२०७९ श्रावण ३१ गते , मंगलबार
झापा-५ बाट चुनाव लड्ने तयारीमा माओवादी युवा नेता रञ्जित तामाङ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता रञ्जित तामाङले आफू झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएका छन् । माओवादी केन्द्रको झापा जिल्ला समन्वय समितिको दोस्रो पूर्ण बैठकमा बोल्दै नेता तामाङले पार्टीले टिकट दिए आफू आगामी मङ्सिरमा हुने चुनावमा झापा ५ बाट चुनाव लड्न तयार रहेको बताएका हुन् ।

अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका नेता तामाङले आफू आकाङ्क्षी भए पनि पार्टीले टिकट नदिए पार्टी काममा पूर्ण लाग्ने बताए । अहिलेको गठबन्धन पार्टीका लागि गलगाँड नभएर बाध्यता भएको उनले बताएका छन् । एमालेले बहुमत ल्याए माओवादी आन्दोलन असफल हुने नेता तामाङले दाबी समेत गरे । ‘केपी ओलीले बहुमत ल्याए भने हाम्रा नेता कार्यकर्ताहरूलाई लखेट्नेछन्,’ उनले भने, ‘माओवादी आन्दोलनले स्थापित गरेका एजेन्डाहरू असफल हुनेछन् ।’

पार्टीका सामु ठुलो चुनौती रहेको बताउँदै नेता तामाङले माओवादी आन्दोलनलाई पुनः जागरण गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबिच भएको गठबन्धनलाई गलत भन्नेहरू नै राप्रपासँग गठबन्धन गरेर चुनाव लड्ने तयारीमा रहेको बताउँदै अरूलाई दोष लगाउनेले आफै ऐना हेर्नु पर्नेमा जोड दिए । माओवादीले युगान्तकारी परिवर्तन गरेको बताएका उनले माओवादीले नै सरकारको नेतृत्व गर्नु पर्नेमा जोड दिए । उनले नेता कार्यकर्ताहरुलाई मङ्सिरमा हुने चुनावमा अहिलेदेखि जनताका घरदैलोमा पुग्न आग्रहसमेत गरे ।

जिल्ला समन्वय समिति अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चार मन्त्री राम कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी, केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, १ नम्बर प्रदेश पार्टी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), कोषाध्यक्ष रेवतराज पुरी, केन्द्रीय अनुशासन आयोग सदस्य पूर्णप्रसाद राजवंशी, झापा जिल्ला सह इन्चार्जहरू पुरुषोत्तम चुँडाल, सिपी कडरिया, बोधराज दाहाल, ज्योतिसिंह दर्लामी, खड्गबहादुर कन्दङ्बा लगायत सयौँ नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव मोहन टुडुले गरेका थिए । 

सम्बन्धित समाचार