आजदेखि तीन दिन एमाले अध्यक्ष ओली गृहजिल्लामा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तीनदिनका लागि गृह जिल्ला झापा आउँदै छन् । तीनसाता अघि चार दिन बसेर फर्र्किएका ओली फेरी तीनदिन बस्ने गरी झापा आउन लागेको हो ।
यस पटक अध्यक्ष ओलीको कार्यक्रम नेपाल कै होचो भूमी केचना देखि गौरादह र विर्तामोड देखि इलामको चुलाचुलीसम्म राखिएको छ । ओलीका साँसद प्रतिनिधी एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार आज ११ बजे भद्रपुर विमानस्थलमा अवतरण गरेर अध्यक्ष ओली कचनकवल गाउँपालिकाको बनियानीमा आयोजना हुने कार्यक्रममा जाने छन् । त्यहाँ बृहत पार्टी प्रवेश तथा क्षेत्र नं ३ का कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समय मिलेसम्म अध्यक्ष ओली नेपालकै होचो भूमी कचनकवल स्तम्भको अवलोकन गर्न पनि जाने छन् ।
साँझ पाँच बजे आफ्नो निर्वाचन क्षेत्र दमकमा मैथीली समाज र मुस्लिम समाजका अगुवा कार्यकर्ताहरुसँग भेट्ने कार्यक्रम छ । उक्त भेटघाट पशुपति मन्दिरको हलमा हुनेछ । भोली भदौ ३ गते विहान ११।३० बजे इलामको चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।
दिउसो १ बजे एमाले निकट मजदुरहरुको दमक नगर सम्मेलन उद्घाटन तथा भेटघाट कार्यक्रममा उनी सहभागी हुने छन् । अपरान्ह ३।३० बजे गौरादह ५ स्थित स्कुलचौनमा आयोजना हुने पार्टी प्रवेश तथा जनसंगठनहरुको भेटघाटमा अध्यक्ष ओली सहभागी हुने छन् । साँझ ५ बजे पार्टी निकट नेपाल उद्योग तथा व्यावसाय महासंघले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुने थापाले जानकारी दिए ।
थापाका अनुसार भदौ ४ गते विहान ११ बजे प्रोग्रेसिप इन्जिनियर एशोसिएसन नेपालको प्रदेश नं १ स्तरीय सम्मेलन विर्तामोडको सिटी सेन्टरमा उद्घाटन गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने छन् । दिउसो १ बजे अनेम संघ झापाको जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रम हिमाल पार्टी प्यालेस विर्तामोडमा हुनेछ । दिउसो २।३० बजे नेपाल उद्योग तथा व्यावसायी महासंघको जिल्ला भेलालाई सम्बोधन गरेर अपरान्ह ३।३० भद्रपुरबाट काठमाडौ फर्कने कार्यक्रम छ । यस बाहेक अन्य केही अनौपचारिक भेटघाटहरु पनि तय भएको थापाले जानकारी दिए ।