'दधिकाद' पर्व रमाए झापाका आदिवासी युवा
झापाको गरामनीमा दधिकाद खेल पर्व मनाएको वर्षौँ भइसक्यो । आदिवासी राजवंशी जातिले यसलाई जगेर्ना गर्दै आएको छ । छिमेकी बिर्ता बजारमा दशकौँदेखि हुँदै आएको दधिकाद लोप भइसक्यो । त्यहाँ विगत दुई वर्षदेखि दधिकाद हुन छाडेको छ । त्यस्तै अन्यत्र पनि दधिकाद पर्व लोप हुँदै गएको छ । तर , गरामनीका राजवंशीहरूले आफ्नै अगुवाइमा यसलाई निरन्तर गर्दै आएका छन् । पहिला दुर्गा मन्दिर अगाडि गर्दै आएकोमा त्यहाँ भवन बनेपछि अहिले दुर्गा माविको खेल मैदानमा गरिरहेका छन् ।
यस वर्ष पनि राजवंशी समाज विकास समिति बिर्तामोडको वडा नं ७ , ८ र ९ नं वडा समितिहरूको संयुक्त आयोजनामा दधिकाद आयोजना गरियो । प्रतिस्पर्धात्मक दधिकाद खेलमा ३१ जना खेलाडीले भाग लिएका थिए । जन्माष्टमी पर्वको भोलिपल्ट मनाइने दधिकादमा नरिवल चढाउने र बाँस चढ्ने प्रतियोगिता हुने गरेको छ । विगत २० वर्षदेखि आफूहरूले नियमित रूपमा दधिकाद आयोजना गर्दै आएको राजवंशी समाज विकास समिति वडा नं ९ का सचिव उदीप राजवंशीले बताए । उनले ठाउँको अभावमा दधिकाद खेल आयोजना गर्न समस्या रहेको सुनाए ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले प्रमुख आतिथ्य एवं राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीको अध्यक्षतामा भएको दधिकाद कार्यक्रममा एमाले नेता अग्नि खरेल ,वडा नं ७ का वडाध्यक्ष कृष्ण खरेल , ८ का वडाध्यक्ष अजय कार्की , ९ का वडाध्यक्ष हरि चौलागाईलगायतको आतिथ्य रहेको थियो ।कार्यक्रमको सञ्चालन सम्पत राजवंशी र उदीप राजवंशीले गरेका थिए । दधिकादको अघिल्लो दिन २४ घण्टे अखण्ड कीर्तन आयोजना गरिएको थियो ।
प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य एवं राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , स्थानीय समाजसेवी रणबहादुर मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन निरतलाल राजवंशीले गरेका थिए । अखण्ड कीर्तनमा ६ वटा टोलीले भाग लिएका थिए ।