२०८३ जेष्ठ १२ गते , मंगलबार

एक्लाएक्लै निर्वाचन लडे कांग्रेस ठूलो पार्टी बन्छ : विश्वप्रकाश शर्मा

sajilo news
झापा
२०७९ भाद्र ९ गते , विहीबार
एक्लाएक्लै निर्वाचन लडे कांग्रेस ठूलो पार्टी बन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक्लाएक्लै निर्वाचन लडे कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन्।  नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै महामन्त्री शर्माले आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता रहेका दलहरुबीच चुनावी तालमेल नभए बाम गठबन्धन हुने हुँदा चुनावी एकता गर्न परेको जिकिर गरे। 

निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गरेर सरकार बनाए पनि संसदबाट ऐन एवं विधेयक पारित गर्न कठिनाइ हुने हुँदा पनि गठबन्धन आवश्यक छ, उनले भने। 

केन्द्रीय समितिको निर्णय अनुसार भदौ १० गतेबाट मुलुकभर एकैसाथ सञ्चालन हुन लागेको 'जनताको साथमा कांग्रेस' अभियान सञ्चालनका क्रममा टोल केन्द्रित भएर कार्यक्रम गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, 'अभियानका क्रममा जनगुनासो सुन्दै कांग्रेस नेतृत्वको सरकारले गरेका कामकाजको व्यापक प्रचार पनि गर्नुहोस्।' 

त्यस्तै बैठकमा कांग्रेसकी केन्द्रीय सदस्य डा। डिला सङ्ग्रौलाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दोधारे चरित्रले जनतालाई दिग्भ्रमित बनाएको आरोप लगाइन्। ओलीले नागरिकतासम्बन्धी विधेयकमा पनि दोधारे चरित्र देखाएको उनले आरोप लगाइन्। 

ओली नेतृत्वको सरकारकै पालमा वंशजको आधार, अङ्गीकृत नागरिकतासम्बन्धी अहिलेकै प्रावधान राखेर संसद्‍मा विधेयक प्रस्ताव भएको दाबी गर्दै उनले भनिन्, 'अन्य थुप्रै समसामयिक राजनीतिक विषयमा पनि एमालेले दोहोरो चरित्र देखाउँदै आएको छ।' 

विगतका निर्वाचनहरूमा झापामा देखिएको पार्टीभित्रको अन्तरद्वन्द्वले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माको भावनात्मक एवं कार्यगत एकताको अन्त्य हुने बताउँदै उनले सहकार्य र एकताका लागि समन्वय गर्न समेत दुवै नेतालाई आग्रह गरेका छन्।  

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्व र सचिव कृष्ण हुमागाईँको सञ्चालन गरेको विस्तारित बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू, पूर्व सांसदहरू, पार्टीका पदाधिकारी सदस्य, पूर्व पदाधिकारी सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँनगर सभापतिहरूको सहभागिता रहेको थियो।  

सम्बन्धित समाचार