२०८३ जेष्ठ १२ गते , मंगलबार

नेकपालाई कमजोर नआँक्न दीपेश राईको चेतावनी

sajilo news
झापा
२०७९ भाद्र १५ गते , बुधबार
नेकपालाई कमजोर नआँक्न दीपेश राईको चेतावनी

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपेश राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका छन् ।आज नेकपा झापाको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा सुनसरी जिल्ला इन्चार्ज समेत रहेका नेता राईले माओवादी पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध लडेर आएको स्मरण गराउँदै नेता राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका हुन् ।

अधिवेशनमा उपस्थित राईले नेकपा त्यहि प्रतिबद्धता र त्यहि लक्ष बोकेर आएका योद्धाहरुको पार्टी रहेकाले राज्यले कमजोर आँके दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।

सिद्धान्त सहितको परिवर्तनको एजेन्डा बोकेर आएको नेकपाले आफ्नो उद्देश्य प्राप्तिका निमित्त जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै देशमा अहिले निम्तिएको आर्थिक संकट बढ्नुको कारण राज्यसत्तामा रहेकाहरुको लुट धन्दाका कारण भएको बताएका छन् ।

देशमा अहिले दलाल पुजीवादकै कारण निर्यात भन्दा आयात बढिरहेको र त्यसैले देश कंगाल बन्दै गैरहेको भन्दै पक्राउ पूर्जी नेकपाका नेताकार्यकर्तालाई नभएर देशका उद्योग, कलकारखाना र सिमाना बेचेर खाने दलालहरुलाई जारी गर्नुपर्ने बताउँदै एकातिर गुलियो देखाउने र अर्कोतिर लुट्नतिर लाग्ने साम्राज्यवादी नितिका कारण देश बर्बाद भैरहेको नेता राईले बताए ।

हिजोको सुप्रिमो प्रचण्ड नै अहिले दलाल साम्राज्यवादको भरपर्दो पात्र बनेको बताउँदै उनले सहिदहरुको सपना पूरा गर्न नेकपा प्रतिबद्ध रहेको बताए । दलाल संसदवादी पार्टीको विकल्प स्वतन्त्र व्यक्ति नभएर यसको विकल्प बैज्ञानिक समाजवादी व्यवस्था रहेको र अब चुनाव गर्ने हो भने व्यवस्था छान्ने चुनाव गर्नुपर्ने समेत नेता राईले बताए ।

शासकले बन्दुकको धमास दियो भने यो धेरै दिन नटिक्ने बताउँदै दलाल राज्यसत्ताको पक्राउ पूर्जी नेकपाले खारेज गर्ने नेता राईले बताए । यतिबेला देशमा एमसिसीको नाममा अमेरिकी साम्राज्यवादले जरा गाडिसकेको बताउँदै यसको विरुद्ध सबैले सशक्त प्रतिकार गर्नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार