२०८३ जेष्ठ १२ गते , मंगलबार

प्रतिनिधि र प्रदेशसभाका आकांक्षीले अब तल्लो निकायमा उठ्न नपाउने

sajilo news
झापा
२०७९ भाद्र १८ गते , शनिबार
प्रतिनिधि र प्रदेशसभाका आकांक्षीले अब तल्लो निकायमा उठ्न नपाउने

नेपाली काँग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले त्यो भन्दा तल्लो निकायमा आगामी निर्वाचनहरूमा उम्मेदवार बन्न नपाउने गरी विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति देउकुमार थेबेको सभापतित्वमा आज बसेको बैठकले मातहत निकायबाट सिफारिस भइआएका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली उपल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।
संघ र प्रदेशमा क्षेत्रीय समितिबाट प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले आफ्नो नाम फिर्ता लिन चाहेमा नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा २०७९ भदौ १९ गते १ बजेभित्र आफै उपस्थित भई निवेदनमार्फत नाम फिर्ता लिन सकिने समय पनि बैठकले तोकेको छ ।
स्थानीय तहको चुनावमा वडा सदस्यको उम्मेदवार बनी निर्वाचनमा पराजित भएका र पहिलोपटक क्रियाशील सदस्यता प्राप्त गरेका समेतले सांसद सदस्यका लागि आकांक्षी उम्मेदवारको समेत नाम सिफारिस भएपछि जिल्ला कार्य समितिको बैठकले तल्लो तहमा पुनः उम्मेदवार बन्न नपाउने गरी प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय गर्नुपरेको पार्टी सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।


पार्टी हित विपरीत अभिव्यक्ति नदिन थापाको निर्देशन

नेपाली काँग्रेस प्रदेश नम्बर १ का सभापति उद्धव थापाले  पार्टीको नीति निर्णय र पार्टी हित विपरीत सार्वजनिक अभिव्यक्ति प्रकट नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेस झापाको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै नेता थापाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरिसकेको अवस्थामा पाँच दलीय गठबन्धनलाई बलियो बनाउँदै संविधान र लोकतन्त्र रक्षाका निमित्त सबै कार्यकर्ताहरू एकताबद्ध भई चुनावी महाअभियानमा जुट्न अपिल गरे ।
पार्टी सङ्गठनभित्र र गठबन्धन दलका सहयात्रीबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्दै  प्रतिगमनकारीको पन्जाबाट देशलाई जोगाउन सबै तह र तप्काका कार्यकर्ताहरू सचेत रहनुपर्नेमा नेता थापाले जोड दिए ।
आफू संघ र प्रदेश दुवैमा प्रत्यक्षतर्फको उम्मेदवार नहुने स्पष्ट पार्दै उनले युवा पुस्ता र नयाँ अनुहारलाई अगाडि बढाउन इच्छुक रहेको भनाइ छ । 
समानुपातिकतर्फको उम्मेदवार बनी १ नम्बर प्रदेशका १४ वटै जिल्लाको चुनाव प्रचारमा खटेर पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने प्रदेश सभापतिको दायित्व निर्वाह गर्ने बताए । 
कार्यक्रममा केन्द्रीय सदस्य सुशीला ढकाल आचार्य, गोमा भट्टराई, प्रदेश प्रतिनिधि हरिकला श्रेष्ठ र इन्दिरा अधिकारीले उम्मेदवार बन्नका लागि पार्टीले निश्चित मापदण्ड बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उम्मेदवारी सिफारिस प्रक्रियालाई हदैसम्म खुल्ला गर्दा केही समस्याहरू आएको बताए ।
प्रदेशसभा र क्षेत्रबाट सिफारिस भइआएका नामावली क्षेत्रीय समितिका सभापति तथा प्रतिनिधिहरू हरिकुमार बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह र ढुण्डिराज भण्डारीले बैठकमा प्रस्तुत गरेका थिए । 
पार्टी सभापति देउकुमार थेबे र उपसभापति केशवराज पाण्डेको आलोपालो सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन सचिव कृष्ण हुमागाईँले गरेका थिए ।

सम्बन्धित समाचार