एमाले झापा : क्षेत्र नम्बर १ मा कोइराला, २ मा चार जना र ३ मा पाँच जनाको नाम सिफारिस
झापा । नेकपा (एमाले)ले झापा क्षेत्र नम्बर १, २ र ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
एमाले झापा १ क्षेत्रीय कमिटीको सोमबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य र झापाका सह इन्चार्ज रविन कोइरालाको एकल नाम सिफारिस गरिएको क्षेत्रीय संयोजक टिकाराम मंग्रातीले जानकारी दिए ।
कोइराला २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । उनले काँग्रेस युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । मंसीर ४ गते हुने निर्वाचनमा पुनः कोइराला र शर्माबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित छ । शर्माको एकल नाम झापा १ बाट सिफारिस भइसकेको छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ झापा क्षेत्र २ बाट चार जनाको नाम सिफारिस भएको छ । बिर्तामोडस्थित पार्टी कार्यालयमा सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले पूर्व महान्यायाधिवक्ता तथा झापा इन्चार्ज अग्निप्रसाद खरेल, देवराज घिमिरे, पवित्रा निरौला खरेल र धुव्र सिवाकोटीको नाम सिफारिस गरेको छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट पाँच जनाको नाम सिफारिस भएको छ । पाथीभरा सामुदायिक वन उपभोक्ता समिति हल्दिबारीको हलमा सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले दुर्गा प्रसाईँ, मोहनचन्द्र रेग्मी, हरिप्रसाद घिमिरे, लोकनाथ भट्टराई र गंगा भुर्तेलको नाम सिफारिस गरेको क्षेत्रीय इन्चार्ज वसन्त बानियाँले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिक तर्फ रेणुका भुर्तेल, शुभलक्ष्मी राई, मोना खवासको नाम सिफारिस गरिएको उनले बताए ।