२०८३ जेष्ठ १२ गते , मंगलबार

निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग

sajilo news
झापा
२०७९ आश्विन ९ गते , आईतबार
निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ ।

संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।

छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । यसैबीच, आयोगले सरुवा भएका कर्मचारीलाई आफ्नो नयाँ कार्यालयमा आजै हाजिर भइसक्न निर्देशन दिएको छ । कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले यसअघि सरुवा भइसकेकाहरूका लागि तत्कालीन कार्यालयबाट रमाना भइ नयाँ कार्यालयमा हाजिर हुनका लागि आजसम्मको समय दिएको हो ।

आयोगले असोज ६ गते बिहीबार सरकारलाई कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो । त्यसअवधिसम्म सरुवा भइसकेकाहरुको हकमा नयाँ कार्यालयमा हाजिर गर्न आजसम्मका लागि समय दिएको थियो ।

आयोगले बिहीबारदेखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको थियो । आकस्मिक सरुवा गर्नुपरेको अवस्थामा आयोगको सहमति लिनका लागि पनि निदेर्शन दिएको थियो ।
 

सम्बन्धित समाचार