एमालेको नेतृत्वमा सरकार बनेमा एक महिनाभित्रै नागरिकता विवाद समाधान हुन्छ : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार बनेको एक महिनाभित्र नेपाली नागरिकतासम्बन्धी विवाद समाधान हुने बताएका छन्।
संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण बारे राष्ट्रपति विद्यादेवी भण्डारी र गठबन्धन सरकारबीच विवाद चर्किरहेको बेला उनले सो कुरा बताएका हुन्।
गृह जिल्ला झापाका आएका एमाले अध्यक्ष ओलीले आइतबार दमकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जन्मसिद्ध नागरिकको सन्तानलाई दिने नागरिकता एमाले नेतृत्वमा सरकार बनेको एक महिनाभित्रै पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।
उनले भने, 'पाँच वर्षभित्र नेपालबाट नागरिकता र सुकुम्वासीको समस्या समाधान हुन्छ, ग्यारेन्टीका साथ भन्छु, यो कुरा एमालेको चुनावी घोषणापत्रमा पनि उल्लेख हुन्छ।'
एमाले सरकारमा हुँदा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्छ भनेर संविधान बमोजिम ऐन ल्याउन खोजिएको उनले बताए। 'विधेयक प्रस्तुत गर्यौं। 'तर, संसदमा विपक्षी पार्टीका सभापतिले तीन वर्षसम्म नागरिकता विधेयक रोके,' उनले भने।
'अध्यादेशमार्फत पनि विधेयक ल्याउन खोज्यौं,' उनले भने, 'सर्वोच्च अदालतले त्यसलाई पनि रोक्यो, जनतालाई परेको समस्यामा राजनीति गर्न नहुने ठाउँले राजनीतिको हतियार र मतियार बन्नु हुँदैन थियो, त्यो कुरा भयो।'
छलफल गरेर नागरिकता विधेयक ल्याउनका लागि सदैव तयार रहेको उनले बताए। 'विधेयक प्रस्तुत गर्नुअघि राष्ट्रपतिसँग इजाजत लिनुपर्छ, उहाँलाई बताउनुपर्छ। दम्भ र सत्ता अहंकारको गठबन्धनकै कारणले नागरिकता विधेयक अड्किएको हो। उनीहरूले नै अहिले अनेकौँ बखेडा खडा गर्न खोज्दैछन्,' उनले भने।