२०८३ जेष्ठ १२ गते , मंगलबार

झापा- २ बाट माओवादीकी धर्मशीला चापागाईँ उम्मेदवार बन्ने 

sajilo news
झापा
२०७९ आश्विन १३ गते , विहीबार
झापा- २ बाट माओवादीकी धर्मशीला चापागाईँ उम्मेदवार बन्ने 

पूर्व राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य धर्मशीला चापागाईँ झापा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने भएकी छिन् ।

माओवादी केन्द्रले झापाको दुई वटा निर्वाचन क्षेत्र २ र ५ पाएकोमा क्षेत्र नं २ बाट धर्मशीला चापागाईँ उम्मेदवार बन्ने भएकी हुन् । आफू उम्मेदवार बन्ने निर्णय भइसकेको चापागाईँले बताइन् । माओवादीले झापाको २ र ५ पाउने भएपछि २ बाट आफूलाई उम्मेदवार बनाउने अध्यक्ष पुष्पकमल दाहालबाट निर्णय भई खबर प्राप्त भएको उनले जानकारी दिइन् ।

२०२९ सालमा जन्मिएकी बुवा डिल्लीप्रसाद चापागाईँ र आमा गङ्गामाया चापागाईँकी छोरी धर्मशीला २०६३ सालमा अन्तरिम विधायिका भएकी थिइन् । त्यसपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी त्यस बेलाको झापा क्षेत्र नं ४ बाट निर्वाचित भएकी थिइन् । त्यस क्रममा उनी राज्यमन्त्री समेत भएकी थिइन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट निर्वाचन लड्दा उनी नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलासँग पराजित भएकी थिइन् । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन नलडेकी उनी समानुपातिक सांसद बनेकी थिइन् । उनका श्रीमान् शङ्कर घिमिरे तत्कालीन शाहीकालमा सेनाको यातनाबाट मारिएका थिए ।

सम्बन्धित समाचार