२०८३ बैशाख १० गते , विहीबार

अर्जुनधारा नव युवा गोल्डकपको फाइनलमा

sajilo news
झापा
२०७९ आश्विन १३ गते , विहीबार
अर्जुनधारा नव युवा गोल्डकपको फाइनलमा

अर्जुनधारा । रोमाञ्चक मोडबाट पहिलो सेमिफाइनलमा सैनिक यूथ क्लब बिर्तामोडलाई पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेर खेलको निर्णय सडनडेथबाट लिनु परेको थियो । जसको निर्णायक गोल ११औँ प्रहारबाट सम्भव भयो ।

झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजकले सडनडेथमा ९–८ गोलले सैनिकलाई पराजित गर्‍यो । जितसँगै आयोजकले कम्तीमा ५० हजार सुरक्षित गरेको छ । आयोजक फाइनल पुग्ने पहिलो टोली हो ।

टाइब्रेकरमा पनि समान ५–५ गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । खेलको पहिलो गोल भने आयोजकका लागि पूजन राईले गरेका थिए । आयोजकका लागि पुजनले नै दुवै गोल ९ र १९औँ मिनेटमा गरेका हुन् ।

तर, खेलको २८औँ मिनेटमा योगेन्द्र तामाङको सुन्दर गोलबाट सैनिक खेलमा फर्किने प्रयास गरेको थियो । खेलको ५६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सैनिकले खेललाई बराबरीमा पुर्‍यायो । सैनिकका लागि दिलन लोक्तामले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच आयोजकका पूजन राई घोषित भए । उनले आयोजकका तर्फबाट नगद १५ सय पाए । भोलि (शुक्रबार)को अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड र भारतको रथखोला एफसीबीच हुने प्रचार संयोजक कमल पोख्रेलले बताए ।

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजना तथा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित गोल्डकपको  विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार