यू-१७ पुरुष फुटबल टिम घोषणा
एएफसी यू-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता हुने प्रतियोगिताका लागि खेलाडी छनोट गरेको हो ।
श्रेष्ठले श्रीलंकामा सम्पन्न साफ यू-१७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरे । यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसी यू-१७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेन । टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् ।
५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्याण्ड छन् । नेपालले ५ अक्टोबरमा थाइल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले अक्टोबर ९ मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।
नेपाली टिमको गोलकिपरमा कृशल मोक्तान, समिर चन्द र रुवेन बोगटी रहेको छ । यस्तै, रक्षकमा अश्विन घोरासैनी, सिमन्ता थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा र राम थापा छन् । मिडफिल्डरमा प्रशान्त लक्षम, सरोज दर्लामी, हरिशराज भट्ट, लछु थापा र युनेस बुढाथोकी छन् भने फरवार्डमा निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई र सुवास बम रहेका छन् ।