धनकुटा खुदुनाबारी गोल्डकपको फाइनलमा
अर्जुनधारा । धनकुटा महिला फुटबल संघ झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी यूथ क्लबले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई कप्तान अञ्जना थुलुङ राईले गोलमा परिणत गरिदिएपछि धनकुटाले फाइनलको यात्रा तय गरेको हो । मोरङले दोस्रो हाफको ३१ मिनेटमा धनकुटाकी खेलाडी मेनुका राईलाई डी बक्स एरियामा लडाएपछि धनकुटाले पेनाल्टीको अवसर पाएको थियो । निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट अवसर पाए पनि सदुपयोग गर्न नसक्दा दोस्रो हाफको ३१ औं मिनेटसम्म खेल बराबरीको अवस्थामा थियो । खेलमा धनकुटाकी रजिना मगर उमन अफ दि म्याच घोषित भइन् ।
अब धनकुटाले फाइनलमा आयोजक टिम जुनताराको सामना गर्ने छ । घरेलु टोली जुनतारा यो प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । क्वाटरफाइनलमा इलाम र सेमिफाइनलमा उदयपुर विरुद्ध ५–० र ४–१ गोल अन्तरले जित निकाल्दै जुनतारा फाइनलमा पुगेको हो । धनकुटाले क्वाटरफाइनलमा सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको फाइनल खेल १६ गते आइतबार हुनेछ । विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाउने छ ।