धनकुटाले उचाल्यो खुदुनाबारी महिला गोल्डकपको उपाधि
अर्जुनधारा । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधि धनकुटा महिला फुटबल क्लब धनकुटाले जितेको छ । प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको हिजो सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै धनकुटाले उपाधि जितेको हो ।
झापाको अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले १–१ को बराबरी गोल गरेपछि टाइब्रेकर खेलाइएको थियो । खेलको ३४ औं मिनेटमा धनकुटाले पाएको फ्रिकिकको सदुपयोग गर्दै धनकुटाकी टिम कप्तान अञ्जना थुलुङ राईले गरेको प्रहार जुनताराको पोस्टमा गोलमा परिणत भएको थियो । तर जुनताराले इन्जुरी टाइममा पाएको फ्रिकिकको अवसरलाई सन्जना राई९सज्नु०ले प्रहार गर्दा धनकुटाकी गोलकिपर सजिया क्षेत्रीले बचाउ गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो ।
टाईब्रेकरमा धनकुटाकी गोलकिपर सजिया क्षेत्री, कप्तान अञ्जना थुलुङ राई र समीक्षा पौडेलले गरेको प्रहार जुनताराकी गोलकिपर जसदा लावतीले बचाउ गर्न सकिनन् । सन्ध्या रम्तेलको प्रहार भने उनले विफल बनाएकी थिइन् । जुनताराका खेलाडी अञ्जना राई, लक्ष्मी श्रेष्ठ र नेहा चौधरी तीनै जनाको प्रहार भने गोलमा परिणत हुन नसक्दा टिमले पराजय बेहोर्नु पर्यो । अन्जनाको प्रहार धनकुटाकी गोलकिपर सजिया क्षेत्रीले विफल बनाइन् भने लक्ष्मी र नेहाले प्रहार गरेको गोल पोस्टमा ठोक्किएर फर्किएको थियो ।
जीतसँगै विजेता धनकुटाले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक टिम जुनताराले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी पाएको छ । प्रतियोगितामा वेस्ट गोलकिपर धनकुटाकी सजिया क्षेत्री, वेस्ट डिफेन्स जुनताराकी सुस्मिता चौधरी, हाइस्कोरर जुनताराकी अनिता लम्जेल घोषित भइन् । उनले सर्वाधिक ५ गोल गरेकी थिइन् । वमेन अफ दी टुर्नामेन्ट धनकुटाकी कप्तान अञ्जना थुलुङ राई घोषित भइन् । उनीहरूले जनही ट्रफीसहित नगद ५ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा राइजिङ यूथ प्लेयरको उपाधि आयोजक जुनताराकी कप्तान ममता राउतले प्राप्त गरिन् । उनले नगद ५ हजार हात पारिन् । समापन समारोहमा प्रदेश १ सरकारका कृषि तथा पशुपन्छी मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्य रहेको थियो ।
अर्जुनधारा नगरपालिका मुख्य प्रवर्द्धक रहेको गोल्डकपलाई च्यारिटी यूथ क्लबले आयोजना गरेको थियो भने सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको थियो ।